Spread the love

 

काठमाडौं,११ कार्तिक ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेह लगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ। विभागले आज एक सुचना जारी गर्दै स्वस्थ वयस्कलाई समेत इनर्जी ड्रिंक्सको सेवनमा सावधानी अपनाउन र एक दिनमा दुई क्यानभन्दा बढी सेवन नगर्न सुझाव दिएको छ ।

इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगबारे उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै विभागले यस्तो आग्रह गरेको हो । विभागका अनुसार नेपालमा हाल १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति लिएर इनर्जी ड्रिंक्स उत्पादन तथा बिक्रीवितरण गर्दै आएका छन्। उत्पादनको लेबल विवरण तथा प्रयोगशाला विश्लेषण प्रतिवेदनअनुसार नेपालमा उत्पादित इनर्जी ड्रिंक्सको प्रतिक्यानमा १०० मिलिग्राम क्याफिन रहेको पाइएको छ ।

युरोपेली खाद्य सुरक्षा प्राधिकरण (ईएफएसए) र अमेरिकी खाद्य तथा औषधि प्रशासन (यूएसएफडीए) लगायतका संस्थाले स्वस्थ वयस्कका लागि सबै खाद्य तथा पेय पदार्थबाट प्राप्त हुने कुल क्याफिनको मात्रा दैनिक ४०० मिलिग्रामसम्म हुन सक्ने वैज्ञानिक आधार प्रस्तुत गरेका छन्। विभागले नेपालमा उत्पादित इनर्जी ड्रिंक्समा प्रयोग गरिएको क्याफिनको मात्रा उक्त दैनिक सीमाको २५ प्रतिशतभन्दा कम रहेको जनाएको छ। विभागले इनर्जी ड्रिंक्सलाई पानी, जुस, दूध तथा मोहीजस्ता पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न र अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि अनुरोध गरेको छ।

त्यस्तै, उत्पादक तथा विक्रेतालाई प्रचलित कानुनअनुसार आवश्यक अनुमति लिएर मात्र विज्ञापन तथा प्रचारप्रसार गर्न आग्रह गरिएको छ। उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनी सन्देश र सुरक्षित उपभोगसम्बन्धी जानकारी स्पष्ट रूपमा राख्नसमेत विभागले निर्देशन दिएको छ। खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने उद्देश्यले वैज्ञानिक तथ्य तथा अन्तर्राष्ट्रिय मापदण्डका आधारमा उपभोक्तालाई सही जानकारी दिन विभागले सरोकारवालालाई आग्रह गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कार्य गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्