Spread the love

पेरिस । महँगी, जीवनयापनको बढ्दो लागत र विद्यालयको दयनीय अवस्थाविरुद्ध फ्रान्सभर भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले १ हजार २०० भन्दा बढीलाई पक्राउ गरेको छ । शनिबार भएको प्रदर्शनमा करिब ५ लाख ५० हजार मानिस सहभागी भएको फ्रान्सेली अधिकारीहरूले जनाएका छन् ।

प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले सरकारी भवन, पसल तथा व्यवसायिक प्रतिष्ठानमा तोडफोड र लुटपाट गर्नुका साथै केही स्थानमा आगजनी गरेका छन् ।

पेरिसमा साँझसम्म प्रहरी र प्रदर्शनकारीबीच झडप जारी रहेको थियो । भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । प्रदर्शनका क्रममा सवारीसाधनमा आगजनी हुनुका साथै पसलहरूमा लुटपाट भएको खबर छ । फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले प्रदर्शनका क्रममा १५० जना प्रहरी घाइते भएको बताएका छन् ।

लिमोज सहरको सिटी हलमा लागेको आगोका कारण भवनको छानोको केही भाग भत्किएको छ । लियोन सहरमा पर्यटक सूचना केन्द्रमा आगजनी भएपछि नगरप्रमुख ग्रेगोरी डुसेले घटनालाई दुःखद भन्दै ऐतिहासिक भवनमा भएको क्षतिप्रति चिन्ता व्यक्त गरेका छन् । त्यस्तै, पेरिसमा बार तथा अन्य व्यावसायिक प्रतिष्ठानमा आगजनी र लुटपाट भएको छ । लिल सहरमा रहेको एप्पल स्टोरमा समेत तोडफोड गरी सामान लुटिएको बताइएको छ ।

ग्रेनोबल, अभिन्योन, मोन्टपेलियरलगायतका सहरमा पनि भौतिक संरचनामा क्षति पुगेको छ । फ्रान्समा पछिल्ला केही सातादेखि माध्यमिक विद्यालयमा कर्मचारी अभाव र जीर्ण भौतिक संरचनाको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका छन् । त्यसमा ट्रेड युनियनका सदस्य तथा महँगीविरुद्ध आन्दोलन गर्दै आएका समूहहरू पनि सहभागी भएका छन् । सन् २०१८ देखि महँगी र जीवनयापनको लागतविरुद्ध आन्दोलन गरेको ‘येलो भेस्ट’ समूहसमेत प्रदर्शनमा सहभागी भएको छ ।

आगामी राष्ट्रपतीय निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूबीच प्रतिस्पर्धा बढिरहेका बेला प्रदर्शन चर्किएको हो । वामपन्थी नेता जिन–लुक मेलाँसोंले प्रदर्शनमा प्रहरीको व्यवहारको आलोचना गर्दै लुटपाट र आगजनीको भने निन्दा गरेका छन् । अर्कोतर्फ, दक्षिणपन्थी नेता मरिन ले पेनले प्रदर्शनकारीका जायज मागलाई अतिवामपन्थी समूहले आफ्नो प्रभावमा पारेको आरोप लगाएकी छन् । राष्ट्रपति म्याक्रोंले सरकारी कार्यालय, व्यवसायिक प्रतिष्ठान र नगरपालिकामा आक्रमण तथा लुटपाट गर्नेहरूलाई कानुनी कारबाही गरिने बताएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्