काठमाडौं,३० असोज ।
नेपाल राष्ट्र बैंकले वालेटमा दैनिक रकम जम्मा गर्ने सीमा वृद्धि गरेको छ । चाडपर्वहरुलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने दैनिक सीमामा अस्थायी रूपमा वृद्धि गरेको छ । राष्ट्र बैंकले जारी गरेको परिपत्र अनुसार साधारणतया भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन अनुसार वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिने व्यवस्था रहेको थियो ।
नयाँ व्यवस्थाअनुसार दशैंको अवसरमा २०८३ असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म र दीपावली तथा छठ पर्वको अवसरमा कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्मका लागि यो सीमा बढाएर एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ । राष्ट्र बैंकले जारी गरेको परिपत्रमा तोकिएको अवधिमा भएका कुल कारोबार संख्या र रकमको विवरण राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई बुझाउन समेत निर्देशन दिइएको छ ।






















