बुटवल, २५ भदौ ।
राममणि बहुमुखी क्याम्पसमा विद्यार्थीहरूका लागि आयोजित ‘व्यावहारिक लेखन’ सम्बन्धी प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रशिक्षक बाबुराम पाण्डेले श्रव्य–दृश्य सामग्रीको प्रयोग गर्दै व्यावहारिक लेखनका विभिन्न पक्षबारे उदाहरणसहित प्रशिक्षण दिएका थिए । उनले व्यावहारिक जीवन तथा पेशागत क्षेत्रमा आवश्यक पर्ने लेखन सीप, यसको प्रयोग र प्रभावकारी लेखनका विषयमा विद्यार्थीलाई जानकारी गराएका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीहरूको ज्ञान, सीप तथा व्यक्तित्व विकासका लागि क्याम्पसले विभिन्न अतिरिक्त तथा व्यावहारिक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले कक्षाकोठाको सिकाइसँगै व्यावहारिक ज्ञान र सीपले विद्यार्थीलाई भविष्यमा थप सक्षम बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा विद्यार्थी परामर्श तथा रोजगार समितिका संयोजक भीमलाल घिमिरे तथा लेखा प्रमुख विष्णुप्रसाद भुसाल, सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेसहित प्राध्यापकहरूको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रममा बीबीएस तेस्रो र चौथो वर्षका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।





















