दाङ, २३ भदौ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन रहेका छन् । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको आपतकालीन कार्यसञ्चालन केन्द्रले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार खोजी तथा पहिचानको कार्य अझै जारी रहेको छ ।
विवरणअनुसार सबैभन्दा धेरै बर्दियाका ७६ जना सम्पर्कविहीन छन् । त्यसपछि दाङका ५४ जना, रोल्पाका २४ जना, बाँकेका २३ जना, रूपन्देहीका १९ जना, पाल्पाका ९ जना, प्युठानका ९ जना, नवलपरासी पश्चिमका ९ जना, अर्घाखाँचीका ८ जना, गुल्मीका ७ जना, कपिलवस्तुका ६ जना र रुकुम पूर्वका ४ जना अझै सम्पर्कमा आउन सकेका छैनन् ।
नवलपरासी पश्चिममा २२२ शव तथा शरीरका अंग फेला
बाढीपछिको खोज तथा उद्धारका क्रममा नवलपरासी पश्चिममा १५८ वटा शव फेला परेका छन् । तीमध्ये ५२ महिला, ९० पुरुष, ६ बालक, ६ बालिका रहेका छन् भने ४ जनाको लिङ्ग पहिचान हुन सकेको छैन । यसका अतिरिक्त ६४ वटा शरीरका अंग समेत फेला परेकाले जिल्लामा फेला परेका शव तथा शरीरका अंगको कुल संख्या २२२ पुगेको छ । अहिलेसम्म फेला परेका शवमध्ये ९ जनाको मात्रै सनाखत भएको छ । पहिचान भएकामध्ये एक महिला र आठ पुरुष रहेका छन् ।
अधिकांश शव तथा शरीरका अंगको व्यवस्थापन गरिसकिएको मन्त्रालयले जनाएको छ । विवरणअनुसार १४२ वटा शव र ६४ वटा शरीरका अंग व्यवस्थापन गरिएकाले हालसम्म कुल २१३ शव तथा शरीरका अंग व्यवस्थापन गरिएको छ । प्रदेश सरकारका अनुसार सम्पर्कविहीन व्यक्तिहरूको खोजी, फेला परेका शवको पहिचान तथा आवश्यक व्यवस्थापनको कार्य सुरक्षा निकाय र सम्बन्धित निकायको समन्वयमा निरन्तर जारी रहेको छ ।






















