Spread the love

नवलपरासी पश्चिम । नारायणी नदीमा हालसम्म १७० वटा शव फेला परेका छन् । तीमध्ये ६८ शवको व्यवस्थापन भइसकेको छ भने चार शवको सनाखत भएको छ । ९८ शव अझै बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । डिएनए संकलन गरी ६८ वटा शवको सुरक्षित रुपमा जमिनमुनी व्यवस्थापन गरिएको जानकारी गराईएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शव व्यवस्थापनको स्थल, शव पहिचानका लागि अपनाइएको प्रक्रिया, शवको सुरक्षा, आफन्तहरुसंगको समन्वय र सहजीकरणका बारेमा जानकारी लिएका छन् । सुनवलनगरलिका स्थित एक सामुदायिक वनमा शव व्यवस्थापन गरेर राखिएको छ ।

सनाखत भएका व्यक्तिहरूमा गोरखाको पालुङटार नगरपालिका–७ की २८ वर्षीया सोमी कुमाल, धादिङको गजुरी गाउँपालिका–६ मिलानटारका ३५ वर्षीय प्रकाश ग्यामी मगर, काभ्रेको रोसी गाउँपालिका–९ घर भई नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारमा होटल तथा किराना पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय संखबुद्ध तामाङ र मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २८ वर्षीय सविन राना रहेका छन् ।

त्यस्तै, अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का ४५ वर्षीय नारायणबहादुर थापा कब्दारको शव रसुवामा फेला परी पहिचान भएको र आफन्तले पोखराबाट बुझेर लगेको विवरणमा उल्लेख छ । पाल्पाको तानसेन नगरपालिका–१० सुनडाँडाका प्रहरी सहायक हवल्दार दिपेन्द्र बिष्टको शव पनि रसुवामा फेला परी सनाखत भएको र आफन्तले बुझेर सद्गद गरेको जनाइएको छ ।

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–१ का ३७ वर्षीय यादव भण्डारीको शव पूर्वी नवलपरासीमा फेला परेको छ । बाँकेको कोहलपुर नगरपालिका–११ का २३ वर्षीय कबिरलाल चौधरीको शव पनि पूर्वी नवलपरासीमा फेला परेको र उनका दाजु सुग्रिव थारूले सनाखत गरी बुझेका छन् ।

सोही स्थानमा फेला परेको बाँकेकै कोहलपुर नगरपालिका–११ का २८ वर्षीय महेश थारूको शव उनका ससुरा कालिराम थारूले सनाखत गरी बुझेको विवरणमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयका अनुसार नारायणी नदीमा फेला परेका १७० शवमध्ये हालसम्म ६८ शवको व्यवस्थापन गरिएको छ । चार शवको सनाखत भएको छ भने ९८ शवको सनाखत तथा व्यवस्थापन हुन बाँकी रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्