Spread the love

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षाको अवस्था रहेको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा सामान्य बदली तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

रातिको समयमा हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

भारी वर्षा र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा सडक तथा हवाई यातायात, नदी तथा खोलानाला र दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्