सिड्नी, अष्ट्रेलिया । रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले आयोजना गरेको ‘तिज धमाका नाइट २०२६’ सिड्नीमा भव्य रूपमा सम्पन्न भएको छ । अगस्ट १५ मा ग्र्याण्ड प्यालेस, अबर्नमा आयोजित कार्यक्रममा नेपालका चर्चित पप तथा आधुनिक गायक प्रताप दास र लोकप्रिय लोकदोहोरी गायिका तथा प्रस्तोता मञ्जु पौडेलले सांगीतिक प्रस्तुति दिएका थिए । यसैगरि कार्यक्रममा डीजे सुरेनले सांगीतिक प्रस्तुति दिँदै सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा वरिष्ठ कलाकार, संगीतकार तथा संगीत प्रशिक्षक सुरेश सेन्चुरीलाई विशेष सम्मान गरिएको थियो । तीन दशकभन्दा लामो समयदेखि नेपाली संगीत, संगीत शिक्षा तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याउँदै आएका सेन्चुरीलाई सयौँ गीतमा संगीत सिर्जना तथा हजारौँ विद्यार्थीलाई संगीत शिक्षा प्रदान गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो । सेन्चुरीलाई रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाकी अध्यक्ष रञ्जिता भण्डारी, एनआरएनए एनएसडब्ल्यु संयोजक उषाकिरण बारिया पोख्रेल र समाजसेवी विष्णु हमालले संयुक्त रूपमा सम्मान गरेका थिए ।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू राज खनाल, ईश्वर पोख्रेल, कृष्ण गैरे, मुक्ति पोख्रेल र दिवाकर काफ्ले लगायतले परदेशमा पनि संस्कृति जोगाउने गरि संस्थाबाट विगतबाट नै महत्वपूर्ण काम हुदै आएको बताए ।
कार्यक्रममा सिड्नीस्थित नेपाली समुदायका करिब ३०० भन्दा बढी दर्शक तथा श्रोताको सहभागिता रहेको संस्थाका महासचिव कमल चापागाईंले बताए । सन् २०१५ मा अष्ट्रेलियाको सिड्नीमा स्थापना भएको रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले हरेक वर्ष तिज विशेष कार्यक्रम आयोजना गर्दै आएको छ ।





















