बुटवल, २९ साउन ।
बुटवलमा चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता २०८३ मा शुरु भएको छ । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा सामाजिक एकता बलियो बनाउने उद्देश्यका साथ बुटवल उपमहानगरपालिकाको संरक्षण, रेडबुलको मुख्य प्रायोजन र फुलबारी गाइजको आयोजनामा चौथौ संस्करणको फुलबारी गाइज फुटसल प्रतियोगिता शुरु भएको हो । सुख्खानगरस्थित एड्रिक फुटसलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा सियोन एफसी विजयी भएको छ । सियोन एफसीले मुर्गिया एसीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।
प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै खेल पूर्वाधार र विकासमा पालिकाबाट राम्रो लगानी भैरहेको बताए । बुटवलमा खेल गतिविधिबाट खेलाडीहरु अवसर सृजना भएको भन्दै यसमा तीन तहकै सरकारबाट लगानी गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रबक्ता शिव राना, रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुन, तिनाउ हस्पिटलका अध्यक्ष चिरन्जिवी जोशी साझा हस्पिटलका अध्यक्ष गोबिन्द खनाल, संरक्षक यम गलामी, वरिष्ठ सल्लाहकार हसन्त लामा, लाफा समुहका अध्यक्ष बबिन थापा, दिनेश थापाले सफलताको शुभकामना दिए ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख २५ हजार रुपैया, उपविजेता टिमले नगद रु. ६० हजार रुपैयाबाट पुरस्कृत गरिने छ । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, कप तथा उत्कृष्ट गोलकिपर र हाईस्कोररलाई नगद ५–५ हजार रुपैयाबाट पुरस्कृत गरिने संयोजक सरोज दर्लामीले बताए । यसैगरि अर्को खेलमा फुलबारी एफसीले लाखे एफसी ५–१ गोल अन्तरले पराजित गरेको छ । साउन ३१ गतेसम्म चल्ने प्रतियोगितामा ३२ टिमले भाग लिएका छन ।





















