बुटवल । विद्यार्थीहरुलाई केन्द्रिय गरि ‘राष्ट्रियता, भौगोलिक अखण्डता, वीर पुर्खाहरूको योगदान र युवाहरूको भूमिका’ विषयक बुटवलमा वृहत शिक्षामूलक अभिमुखिकरण कार्यक्रम हुने भएको छ । सुस्ता बचाउ युवा अभियान र सुस्ता बचाउ अभियान नवलपरासीको आयोजनामा मङ्सिर १४ गते सोमबार बुटवलको रामनगरस्थित अन्तर्राष्ट्रिय सभाहलमा दोस्रो पटक कार्यक्रम गर्न लागेको हो ।
मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि नयाँ पुस्ता तथा विद्यार्थीमा देशप्रतिको माया, जिम्मेवारीबोध र राष्ट्रिय सचेतना अभिवृद्धि गर्ने अपेक्षासहित कार्यक्रम गर्न लागेको सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले बताए । सामुदायिक तथा संस्थागत विद्यालय, लखन ब्रदर्श युवा क्लब र रुद्र गण धार्मिक संस्थाको सहकार्यमा अभिमुखीकरण कार्यक्रम हुने उनले बताए । ‘तथ्यमुलक इतिहास नया पुस्तालाई बुझाउने यो अभियानमात्र हो ।’–उनले भने । पाठ्यक्रममा समेत यो आवश्यक छ र निरन्तरता राज्यबाट गरिनुपर्ने उनले बताए ।
कार्यक्रममा नेपालको सीमाको विषयमा सीमाविद् बुद्धिनारायण श्रेष्ठ र नेपालको राष्ट्रिय रक्षाको विषयमा नेपाली सेनाका पूर्व उपरथी डा. पूर्णबहादुर सिलवाल प्रमुख वक्ताका रूपमा सहभागी हुने छन । कार्यक्रममा कक्षा ९ देखि १२ सम्म तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीका साथै राष्ट्रियताबारे चासो राख्ने सर्वसाधारण गरि करीब २ हजार सहभागी रहने उनले बताए । राष्ट्रिय अखण्डता र स्वाभिमानको रक्षा गर्न देशभक्तिको भावना जागृत गराउने, आत्मगौरव बढाउने तथा तथ्यपरक अभिलेख र सचेतनामार्फत युवा विद्यार्थीलाई देशप्रेमप्रति प्रेरित गर्ने कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ ।
कार्यक्रममा बटौली संरक्षक तथा सम्बद्र्धन अभियानका संयोजक रविन्द्रगोपाल लाकौल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, दीप बोर्डिङका प्राचार्य टीकाराम न्यौपाने, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयका प्राचार्य प्रेम बस्नेत र कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले समयसापेक्ष उपयुक्त कार्यक्रम भएको भन्दै सफलताको शुभकामना दिए ।





















