धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट प्रहरीले ट्रकमा लुकाएर ल्याइएको ६४७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। गाँजासहित पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–३ का २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको सहिदभूमि गाउँपालिका–१ का ३६ वर्षीय तुलराम राई रहेका छन्।
बिहीबार बिहान करिब ५ः३० बजे कोशी लोकमार्गअन्तर्गत भेडेटार चोकमा विराटनगरतर्फ जाँदै गरेको ना.३ ख ५०९५ नम्बरको ट्रकलाई रोकेर प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाई राखिएको अवस्थामा ४८ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजाको तौल गर्दा ६४७ किलो रहेको खुलेको हो। पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















