दाङ । दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका ५५ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले साउन १६ गतेदेखि १९ गतेसम्म बंगलाचुली गाउँपालिका र लमही नगरपालिका क्षेत्रका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा खोजतलास गरेको थियो।
खोजतलासका क्रममा बंगलाचुली गाउँपालिका–४, ५, ६, ७ र ८ का हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट ४८ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, लमही नगरपालिका–९ तरुलियास्थित बिरह सामुदायिक वनबाट थप ७ नाल भरुवा बन्दुक बरामद गरिएको छ।प्रहरीका अनुसार बरामद भएका सबै भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेका हुन्। ती हतियार कसले र के प्रयोजनका लागि वन क्षेत्रमा लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।






















