काठमाडौं । राहदानी ऐनअन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । उनलाई काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । जर्मनी जाने भिसा प्रयोजनका लागि काठमाडौंस्थित जर्मन राजदूतावासमा यात्रा अनुमति पत्रसहित उपस्थित भएका केही व्यक्तिको राष्ट्रियतामाथि शंका लागेपछि राजदूतावासले उनीहरूसँग सोधपुछ गरेको थियो ।
सो क्रममा राजदूतावासले पाँच थान सक्कल यात्रा अनुमति पत्र अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको थियो । उक्त यात्रा अनुमति पत्र जारी गर्ने प्रक्रियामा खोटाङको रावाबेसी गाउँपालिका–३ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका ५६ वर्षीय पुष्पराज भट्टराईको संलग्नता देखिएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार उक्त कार्यमा संलग्न रहेको आरोपमा अनुसन्धान गरिएका भट्टराई तत्कालीन समयमा परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा शाखा अधिकृतका रूपमा कार्यरत थिए।
हाल उनी परराष्ट्र मन्त्रालयको श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखामा सहसचिव पदमा कार्यरत छन् । प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८३ साउन ११ गते काठमाडौं जिल्ला अदालत, बबरमहलमा अभियोगपत्र दायर गरेको थियो । अभियोगमा प्रतिवादी कायम गरिएका भट्टराईलाई प्रहरीले २०८३ साउन १८ गते काठमाडौं महानगरपालिका–स्थित त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिल कार्यालय, माइतीघर काठमाडौंमार्फत काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।






















