Spread the love

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको पश्चिम–मध्य भू–भाग आसपास रहेको र आगामी दिनमा थप शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको महाशाखाले जनाएको छ । हाल बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम सफादेखि आंशिक बदली रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले देशका १५ जिल्लामा रेड अलर्ट जारी गर्दै आगामी शुक्रबारदेखि तीन दिनसम्म विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ र बाजुरा मा रेड अलर्ट जारी गरिएको हो ।

आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भारीदेखि अति भारी वर्षा हुनसक्ने तथा कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । देशका अधिकांश भू–भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने विभागको पूर्वानुमान छ । वर्षाका कारण बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नुका साथै सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने विभागले जनाएको छ।

साना तथा ठूला नदीको जलसतह बढ्नसक्ने, नदी आसपासका निर्माण कार्य तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । यसैगरी हिमाली क्षेत्रमा भारी वर्षासँगै भारी हिमपातको समेत सम्भावना रहेकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्