Spread the love

बुटवल, १५ साउन ।

रुपन्देही प्रहरीले अवैध रूपमा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भिओआईपी) कल बाइपास गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गर्दै त्यसमा प्रयोग हुने विभिन्न उपकरण तथा ठूलो परिमाणमा सिमकार्ड बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बसपार्क क्षेत्रमा लामो समयदेखि निगरानीपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले कारबाही गरेको हो ।

प्रहरीले न्यु मुक्ति होटल एण्ड रेष्टुरेन्टको दोस्रो तलामा कोठा भाडामा बस्दै आएका गोरखा जिल्ला चुमनुव्री गाउँपालिका–४ निवासी अन्दाजी ६२ वर्षीय छिरिङ गुरुङलाई पक्राउ गरेको जनाएको छ । कोठामा गरिएको खानतलासीका क्रममा प्रहरीले वीओआईपी कल बाइपासका लागि प्रयोग भइरहेको आशंका गरिएको दुई वटा सिमकार्ड जडान गरिएका डिभाइस, दुई वटा राउटर, तीन वटा मोबाइल, ५६ वटा भारतीय सिमकार्ड, तीन वटा चिनियाँ सिमकार्ड, एनसेल सिमकार्डका ३८ वटा खोल, एक वटा नेपाल टेलिकमको सिमकार्ड, इन्भर्टर, ब्याट्री, आरजे–४५ केबल, मल्टिप्लग लगायतका उपकरण बरामद गरेको छ ।

यस्तै नेपाली एक हजार दरका ११ थान नोट, भारतीय ५०० दरका १४ थान तथा भारतीय १०० दरका ९ थान नोट, बागमती प्रदेश नम्बरको एक स्कुटर, नेपाली नागरिकता, भारतीय निर्वाचन परिचयपत्र तथा नेपाली सवारी चालक अनुमति पत्र समेत नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले बताए ।

पक्राउ परेका गुरुङविरुद्ध दूरसञ्चार ऐन, २०५३ अन्तर्गत वीओआईपी कल बाइपास सम्बन्धी कसुरमा रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार वीओआईपी कल बाइपासमार्फत अन्तर्राष्ट्रिय टेलिफोन कललाई अवैध रूपमा इन्टरनेट प्रयोग गरी स्थानीय कलका रूपमा रूपान्तरण गरिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्