Spread the love

बुटवल, १३ साउन ।
नेपाल चिकित्सक संघको केन्द्रीय समितिको निर्णयअनुसार बुधबार दोस्रो दिन पनि देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक (इमर्जेन्सी) सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू बन्द भएका छन् । चिकित्सकमाथि बढ्दो आक्रमण, असुरक्षा तथा स्वास्थ्य सेवाको मर्यादा संरक्षणको माग गर्दै चिकित्सकहरूले देशव्यापी आन्दोलनस्वरूप धर्ना तथा कोणसभा आयोजना गरेका हुन् ।

नेपाल चिकित्सक संघ, लुम्बिनी शाखाको आयोजनामा लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा धर्ना तथा कोणसभा सम्पन्न गरेको छ । कार्यक्रममा चिकित्सकहरूसँगै विभिन्न पेशागत तथा सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरूले ऐक्यबद्धता जनाउँदै स्वास्थ्यकर्मीमाथि हुने हिंसा र दुव्र्यवहार तत्काल रोक्न तथा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका थिए ।
कोणसभामा वक्ताहरूले चिकित्सकहरूलाई सुरक्षित वातावरणमा सेवा प्रदान गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड र आक्रमणका घटनामा संलग्नमाथि कडा कानुनी कारबाही हुनुपर्ने तथा स्वास्थ्य सेवाको गरिमा जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डा. कृष्ण खरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, नेपाल औषधी ब्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपाने, अफिन लुम्बिनीका अध्यक्ष भिम तुलाचन, नेपाल डेन्टल एशोसियसनका रुपन्देहीका अध्यक्ष डा दिपेन्द्र पोखरेल लगायतले चिकित्सकमाथि हुने हिंसाका घटनाले स्वास्थ्य सेवा नै प्रभावित हुने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने बताए ।

नेपाल चिकित्सक संघले आन्दोलनका क्रममा आकस्मिक सेवा भने नियमित रूपमा सञ्चालनमा रहेको जनाएको छ । अन्य नियमित स्वास्थ्य सेवा भने बुधबार दिनभर प्रभावित भएका छन् । आन्दोलनमा लुम्बिनी प्रदेशका विभिन्न अस्पतालका चिकित्सकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्