काठमाडौं, ११ साउन ।
राजधानी काठमाडौं भित्रिने र बाहिरिने यातायातलाई सहज, सुरक्षित र छिटो बनाउने उद्देश्यले निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । पूर्वाधार विकास मन्त्री सुनील लम्सालले विशेष समारोहबीच सुरुङमार्गको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको समेत उपस्थिति रहेको थियो । सरकारका अनुसार सुरुङमार्ग प्रारम्भिक चरणमा परीक्षण तथा व्यवस्थापनलाई प्राथमिकता दिँदै दमकल, एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिइएको छ । टोल व्यवस्थापन, कर्मचारी परिचालन तथा प्राविधिक तयारीका बाँकी काम सम्पन्न भएपछि सर्वसाधारणका सवारीका लागि पूर्ण रूपमा सञ्चालन गरिने बताइएको छ ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीका लागि टोल शुल्क निर्धारण गरिएको छ । जसअनुसार हलुका सवारी प्रवेश गर्दा रु ६५, बाहिरिँदा रु ६०, मिनीबस÷मिनी ट्रक प्रवेश गर्दा रु ११५, बाहिरिँदा रु ८०, बस तथा सिंगल एक्सल ट्रक प्रवेश गर्दा रु २६०, बाहिरिँदा रु २०० तथा ठूला तथा भारी सवारी प्रवेश गर्दा रु ६००, बाहिरिँदा रु २५० तोकिएको छ । सुरुङमार्गको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै दुई पाङ्ग्रे सवारी, ग्यास तथा तरल इन्धन बोकेका सवारी, पशुपन्छी बोकेका सवारी तथा विस्फोटक पदार्थ बोक्ने सवारी साधनलाई सुरुङमार्ग प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नागढुंगा सडकखण्डको ट्राफिक चाप घट्नुका साथै यात्रा समय कम हुने र राजधानीसँगको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ ।





















