काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको संयुक्त लगानीमा करिब १९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो सुरुङमार्गलाई नेपालको पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर रहेको छ । आपतकालीन निकास (इभ्याकुएसन टनेल) र क्रस–प्यासेजसहित सुरुङ संरचनाको कुल लम्बाइ करिब ५.५ किलोमिटर पुगेको छ। लागत भेरिएसनसमेत जोड्दा आयोजनाको कुल लागत करिब १९ अर्ब रुपैयाँ पुगेको उनले जानकारी दिए ।
जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले २०७६ सालदेखि सुरुङमार्ग निर्माण सुरु गरेको थियो । आयोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने कार्यक्रम तय भएको छ ।
उद्घाटनपछि सुरुङमार्गमा प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइने सडक विभागले जनाएको छ । त्यसपछि सुरक्षासम्बन्धी सम्पूर्ण प्रणाली परीक्षणका लागि ‘मक ड्रिल’ सञ्चालन गरिनेछ। जेट फ्यान, भेन्टिलेसन प्रणाली तथा अन्य प्राविधिक उपकरणको परीक्षण सम्पन्न भएपछि सर्वसाधारणका सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याइनेछ ।
सडक विभागका अनुसार उद्घाटनपछि करिब एक साताभित्र सम्भावित दुर्घटना, आगलागी तथा अन्य विपद्को पूर्वतयारीका लागि नमूना अभ्यास (मक ड्रिल) गरिनेछ । त्यसपछि एक सातासम्म एकतर्फी परीक्षण सञ्चालन गरिने र सबै प्राविधिक परीक्षण सफल भए करिब एक महिनाभित्र सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने योजना छ ।
सुरुङमार्गमा मोटरसाइकल तथा पेट्रोल, डिजेल, ग्यासजस्ता प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ । अन्य सवारीसाधन भने तोकिएको मापदण्डअनुसार सञ्चालन गर्न सक्नेछन् । महानिर्देशक जैसीले नागढुंगा–सिस्नेखोला क्षेत्रमा रहेको उकालो, घुम्ती र पहिरोको जोखिम न्यूनीकरण गर्दै सुरक्षित तथा सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यले विस्तृत अध्ययनपछि सुरुङमार्ग निर्माण गरिएको बताए ।






















