गण्डकी । बागलुङको बडिगाड गाउँपालिकामा साथीको जन्मदिन मनाउन गएका एक किशोरको मोबाइलको विषयमा भएको सामान्य विवादले ज्यानै जाने दुःखद घटना भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोबाइल माग्दा नदिएको निहुँमा कुटपिट भएपछि १७ वर्षीय लजिन थापाको मृत्यु भएको हो ।
बडिगाड गाउँपालिका–१ निवासी लजिन थापाको शव बिहीबार स्थानीय मनखोलामा फेला परेको थियो । घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरीका अनुसार साउन १ गते असिम वनको जन्मदिन मनाउने क्रममा साथीहरू रातिसम्म मदिरा सेवन गरेका थिए । घर फर्कने क्रममा लजिनसँग रहेको आइफोन मोबाइल माग्दा उनले दिन अस्वीकार गरेपछि विवाद चर्किएको र त्यसपछि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार कुटपिटबाट बेहोस भएका लजिनको मृत्यु भएपछि आरोपितहरूले घटनास्थलबाट करिब आधा घण्टाको दूरीमा रहेको मनखोलाको क्षेत्रमा शव लुकाएर राखेका थिए ।
प्रहरीका अनुसार जन्मदिन कार्यक्रममा सात जना सहभागी भए पनि अन्य साथीहरू घर फर्किएपछि रेमबहादुर विक र ददी परियारले लजिनलाई पछ्याउँदै एकान्त स्थानमा लगेर आक्रमण गरेका थिए। अनुसन्धानबाट उनीहरू साउन १ गते राति करिब २ः३० बजेसम्म स्थानीय दगातुम्डाँडा प्राथमिक विद्यालयमा बसेर मदिरा सेवन गरिरहेको खुलेको छ । जन्मदिन कार्यक्रममा नौ वर्षीय एक बालक समेत सहभागी रहेको प्रहरीले जनाएको छ ।
घटनापछि लजिन एक सातासम्म सम्पर्कविहीन भएका थिए । परिवारले खोजी थालेपछि प्रहरीले प्राविधिक विज्ञ, तालिमप्राप्त कुकुर तथा ड्रोन क्यामेराको प्रयोग गरी खोजी अभियान सञ्चालन गरेको थियो । सोही क्रममा मनखोलामा उनको शव फेला परेको हो । प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ । काठमाडौंको धुम्बाराहीस्थित साइपाल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन केही समयअघि बिदा मनाउन घर आएका थिए । साथीको जन्मदिनको खुसी साट्न गएका उनी आफ्नै साथीहरूको आक्रमणमा ज्यान गुमाउन पुगेपछि स्थानीय समुदाय शोकमा डुबेको छ ।





















