Spread the love

बुटवल, ८ साउन ।
रुपन्देहीमा सर्प र सर्पदंशका घटनाहरु धेरै देखिन थालेपछि युवाहरुले सचेतनामुलक कार्यक्रम अघि बढाएका छन । धार्मिक संस्था रुद्र गणको अगुवाईमा युवाहरु विशाल पाण्डेय र नबिन पौडेलले विद्यालयस्तरमा “सर्पदंश न्यूनिकरण र सर्प संरक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रम” शुरु गरेका हुन ।

शुक्रबार बुटवलको कान्ति माबिमा अभियानको पहिलो कार्यक्रम गरिएको छ । विद्यार्थीहरुलाई कार्यक्रममा सर्पको पहिचान, विषालु र अविषालु सर्पबीचको भिन्नता, सर्पदंशबाट बच्ने उपाय, सर्पले टोकेपछि अपनाउनुपर्ने प्राथमिक उपचार तथा तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्ने आवश्यकताबारे जानकारी दिइएको थियो । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका डा. सन्तोष पाण्डे, सर्प उद्धारकर्ता विशाल पाण्डेय, नबिन पौडेलले सहजिकरण गरेका थिए ।

सर्प वातावरणीय सन्तुलन कायम राख्ने महत्वपूर्ण जीव भएकोले अनावश्यक रूपमा मार्ने प्रवृत्ति अन्त्य गरी सुरक्षित उद्धार र प्राकृतिक बासस्थानको संरक्षण गर्नुपर्ने सर्प उद्धारकर्ता विशाल पाण्डेयले बताए । मुसा लगायतका हानिकारक जीव नियन्त्रणमा सर्पको महत्वपूर्ण भूमिका रहने भएकाले जैविक विविधता संरक्षणका लागि पनि सर्प संरक्षण अपरिहार्य रहेको उनको दाबी छ ।

प्रत्येक वर्ष चैत महिनादेखी सर्प देखिन शुरु गर्ने गर्दछ भने असार, साउन र भदौ गरि ३ महिनामा सर्प र सर्पदंशको घटना अत्याधिक हुन्छ । यसवर्ष एकै दिनमा १३ वटा सर्पसम्म उद्धार गरिएकोे सर्प उद्धारकर्ता विशाल पाण्डेयले बताए । हाल रुपन्देहीमा सर्पदंशका दैनिक ४/५ वटा घटनाहरु अस्पतालमा आउने गर्दछन । सचेतना कार्यक्रम उपलब्धिमुलक भएको प्रधानाध्यापक गोबिन्द ज्ञवालीले बताए ।

कार्यक्रममा कक्षा ११ र १२ का करीब २०० विद्यार्थीहरु सहभागी रहेको रुद्र गणका संयोजक कमल सापकोटाले बताए । जिल्लाका हरेक विद्यालयहरुमा यो अभियान संचालन गर्ने लक्ष्य रहेको उनले बताए । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पतालमा सर्पदंशको उपचार हुन्छ ।

भिडियो रिर्पोट

 

What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्