Spread the love

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र मोबाइल एप बन्द गरेको जनाएको छ । फिफा विश्वकपको अवधिमा यस्ता अवैध प्लेटफर्मको प्रयोग अत्याधिक भएको र जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले विशेष निगरानी र कारबाही तीव्र बनाएको हो ।
सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको ४२ औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो । सोही निर्णयअनुसार यसअघि सञ्चालनमा रहेका बेटिङ साइटहरू बन्द गरिए पनि नयाँ नाम र नयाँ डोमेनमार्फत पुनः सञ्चालनमा आउने क्रम भने रोकिएको छैन ।

विश्वकप सुरु भएयता मात्रै दुई लाख २३ हजार ५६८ वटा यस्ता वेबसाइट तथा एपमा पहुँच अवरुद्ध गरिएको प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि विश्वकपका बेला अनलाइन बेटिङको जोखिम बढ्न सक्ने भन्दै विशेष चासो देखाएपछि प्राधिकरणले छुट्टै टास्क फोर्स गठन गरी निगरानी तथा कारबाहीलाई तीव्रता दिएको थियो ।

विश्वकप सुरु भएदेखि इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिलाई प्राधिकरणमै समन्वयका लागि राखेर अवैध वेबसाइटको यूआरएल तत्काल ब्लक गर्ने व्यवस्था गरिएको प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोले बताए । अधिकारप्राप्त विभिन्न निकायले पहिचान गरेका बेटिङ साइट तथा अवैधानिक वित्तीय कारोबार हुने वेबसाइटहरू आईएसपीसँगको सहकार्यमा बन्द गरिएपनि अर्को नयाँ नाममा पुनः सञ्चालनमा आउने प्रवृत्ति चुनौतीका रूपमा रहेको उनले बताए । यस्ता वेबसाइटको पहिचान र निगरानीका लागि प्राधिकरणले ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गर्दै आएको छ । उक्त प्रणालीमार्फत नयाँ खुलेका शंकास्पद वेबसाइट खोजी गरी तत्काल ब्लक गर्ने व्यवस्था गरिएको छ भने यसका लागि छुट्टै प्राविधिक जनशक्ति समेत परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सर्वसाधारणलाई पनि अनलाइन बेटिङ, स्क्यामिङ वा अवैधानिक वित्तीय कारोबारमा संलग्न वेबसाइट तथा एपबारे जानकारी भए सम्बन्धित सूचना अद्यावधिक गरेर कारबाहीमा सहयोग गर्न आग्रह गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्