बुटवल ।
शंकरनगरस्थित केन डायबिटिज एण्ड थाइराइड सेन्टरले दुईदिने निःशुल्क आँखा तथा मधुमेह स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । “थाइराइड केवल घाँटीको रोग मात्र होइन, यसले आँखामा पनि असर गर्न सक्छ । समयमै आँखा जाँच गरौँ, दृष्टि सुरक्षित राखौँ ।“ भन्ने सन्देशसहित सेन्टरले थाइराइड, मधुमेह बिरामीका लागि लक्षित गरि साउन ९ र १० गते (शनिबार र आइतबार) निःशुल्क फास्टिङ ब्लड सुगर परीक्षण, निःशुल्क पीपी ब्लड सुगर परीक्षण तथा वरिष्ठ आँखा रोग विशेषज्ञबाट निःशुल्क आँखा परीक्षण गर्ने भएको हो ।
सेन्टरमा उपचाररत सम्पूर्ण थाइराइड, मधुमेह तथा उच्च जोखिम भएका बिरामीलाई कार्यक्रममा अनिवार्य रूपमा सहभागी भई आफ्नो स्वास्थ्य अवस्था परीक्षण गराउन आग्रह गरेको छ । सेन्टरका अध्यक्ष दिनेश कक्षपतिका अनुसार थाइराइडलाई घाँटीको समस्या मात्र ठान्ने गरे पनि विशेषगरी हाइपरथाइराइडिज्म भएका बिरामीमा यसको असर आँखामा समेत पर्न सक्ने बताए । हाइपोथाइराइडिज्म भएका बिरामी पनि नियमित आँखा परीक्षण गराउनु आवश्यक रहेको उनको सुझाव छ । संस्थाको वार्षिक कार्ययोजना अनुसार कार्यक्रम गर्न लागेको उनले बताए ।
थाइराइडका कारण आँखा बाहिर निस्किने, आँखा सुख्खा हुने, पोल्ने वा रातो हुने, डबल देखिने तथा दृष्टि कमजोर हुने जस्ता समस्या देखिन सक्ने भएकाले समयमै परीक्षण र उपचार आवश्यक रहेको सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले बताए ।





















