बुटवल, ६ साउन ।
समाजसेवी एवं युवा नेता रामजीत लोधले रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ र ७ अन्तर्गतका तीन विद्यालयका करिब ९ सय जना विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक वितरण गरेका छन। शुद्धोधन–६ स्थित गुरौली माध्यमिक विद्यालय, वडा नं. ७ को जनता माध्यमिक विद्यालय तथा राधाकृष्ण प्राथमिक विद्यालयका बालविकासदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाक हस्तान्तरण गरिएको हो।
समाजसेवी लोधले आर्थिक अभावका कारण समस्यामा परेका बालबालिकालाई मध्येनजर गरि विद्यालय पोशाक वितरण गरेको बताए । आफ्नो बाल्यकालमा आर्थिक अभावका कारण विद्यालय पोशाक अभाव ब्यहोरेको स्मरण गर्दै आफ्नो जस्तो पिडा विधार्थीहरुलाई नपरोस भनेर अभियान सञ्चालन गरेको बताए। कतिपय स्थानीय तह विद्यालय पोशाक वितरण अभियानलाई प्राथमिकतामा राखेको भन्दै उनले प्रभावकारी रुपमा पहल हुने गरि व्यक्तिगत कार्यक्रम सञ्चालन गरेको बताए। राधाकृष्ण प्राथमिक विद्यालयका पूर्वविद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत रहनुभएका लोध लामो समयदेखि विभिन्न सामाजिक सेवामूलक गतिविधिमा सक्रिय रहँदै आएका छन।गाउँघरमा निःशुल्क कुटानी–पिसानी सेवा, शिक्षकहरुलाई शैक्षिक तथा धार्मिक भ्रमण लगायतका धेरै अभियान उनले गर्दै आएका छन।
कार्यक्रममा गुरौली माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ज्ञवाली, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक लल्लनप्रसाद चौधरी, राधाकृष्ण प्राथमिक विद्यालयका प्रधानाध्यापक जितेन्द्र कुँवर थारुले समुदायको आवश्यकतालाई मध्यनजर गरि चलाईएका समाजसेवीहरुको अभियानको प्रशंसा गरे।





















