डोल्पा, ३२ असार ।
डोल्पा प्रहरीले स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार नियमित सुरक्षा जाँचका क्रममा दुबैबाट छलर्फ जादै गरेको क्रममा उक्त रकमसहित उनीहरू पक्राउ परेका हुन् ।
जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रतिनिधिको उपस्थितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा टोलीले चेकजाँच गरिरहेको बेला मोटरसाइकलमा यात्रा गरिरहेका दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्रिपुरासुन्दरी–७ का ३२ वर्षीय विष्णुलाल रोकायले चलाएको भे १३ प ९२६५ नम्बरको मोटरसाइकलमा पछाडि सवार सोही स्थानका ४२ वर्षीय भक्ति चन्द्र रोकायको साथबाट स्रोत खुलाउन नसकिएको नगद रु. ५५ लाख ९० हजार बरामद भएको हो ।
बरामद रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी विनय कुमार सिहले बताए । प्रहरीले रकमको स्रोत, प्रयोगको उद्देश्य तथा अन्य सम्भावित संलग्नताबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।






















