Spread the love

काठमाडौं, २९ असार ।
वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा ज्यान गुमाएका मुगु, सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको घटनापछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ । उक्त सहमतिपत्र सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा यसको व्यापक चर्चा भइरहेको छ ।

सार्वजनिक सहमतिपत्रअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्नेछ । समिति गठन भएको सात दिनभित्र प्रतिवेदन सरकारसमक्ष पेश गर्ने उल्लेख गरिएको छ । सहमतिमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषय पनि समेटिएको छ । प्रचलित कानुन, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइने जनाइएको छ ।
त्यस्तै, घटना भएको दिन घटनास्थलमा फिल्डमा खटिएका काठमाडौं महानगर प्रहरी बलका कर्मचारीमाथि छानबिन आयोगको प्रतिवेदनअनुसार आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमार्फत काठमाडौं महानगरपालिकालाई लेखी पठाइने सहमति भएको छ ।

पीडित परिवारको दीर्घकालीन व्यवस्थापनका लागि पनि विभिन्न प्रतिबद्धता गरिएको छ । सहमतिअनुसार मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा काठमाडौं महानगरपालिकामा रोजगारी सुनिश्चित गरिनेछ भने मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्नेछ । यसका लागि नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक समन्वय गर्ने उल्लेख छ।

यस्तै, आगामी कार्यपालिका बैठकबाट मृतकका आश्रित परिवारलाई राहतस्वरूप उपयुक्त रकम उपलब्ध गराइने, अन्तिम संस्कार (सद्गत) र काठमाडौंमा गरिने काजकिरियाको सम्पूर्ण व्यवस्थापन महानगरपालिकाले गर्ने, शव परीक्षणसहितका कानुनी प्रक्रियामा पूर्ण सहजीकरण गर्ने तथा परिवारका एक सदस्यको काठमाडौं आवतजावत, बसोबास र काजकिरिया अवधिभरको सम्पूर्ण खर्च महानगरपालिकाले बेहोर्ने सहमति भएको छ ।

साथै, पीडित परिवारका एक सदस्यको स्वास्थ्य बीमाको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत गरिने पनि दस्तावेजमा उल्लेख गरिएको छ । सहमतिपत्रमा नेपाल सरकार तथा स्थानीय तहको तर्फबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरेका छन् । पीडित परिवारका तर्फबाट मृतककी श्रीमती, बुबा, आमा, दाजु, बहिनीसहित वार्ता समितिका सदस्यहरूले हस्ताक्षर गरेका छन् ।

गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए । शरीरको करिब ५५–६० प्रतिशत भाग जलेपछि उनको वीर अस्पतालको बर्न आईसीयूमा उपचार भइरहेको थियो । थप उपचारका लागि भारत लैजाने तयारी भए पनि स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएपछि सम्भव नभएको थियो । उपचारकै क्रममा उनको निधन भएको थियो ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्