काठमाडौं, २६ असार ।
फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा मोरक्कोविरुद्ध २–० को जित निकाल्दै साविक उपविजेता फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा पेनाल्टी मिस गरेका कप्तान केलियन एमबाप्पेले ६० औँ मिनेटमा पेनाल्टी एरियाको ठीक भित्रबाट उत्कृष्ट गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाए । त्यसको ६ मिनेटपछि नै उस्मान डेम्बेलेले मोरक्कोको रक्षापंक्तिलाई छक्याउँदै दोस्रो गोल गरे । अमेरिकाको बोस्टनमा भएको खेलमा खेलको ७७ औँ मिनेटमा कप्तान केलियन एमबाप्पे मैदानबाट बाहिरिँदा उनका समर्थकहरूमाझ केही चिन्ता देखिएको थियो ।
बोस्टन रंगशालामा उपस्थित हजारौँ दर्शकले उभिएर ताली बजाउँदै उनलाई बिदाइ गरेका थिए । उनको स्थानमा जीन–फिलिप माटेटा मैदान छिरेका थिए । एमबाप्पेले यस प्रतियोगितामा अर्जेन्टिनाका लिओनल मेसीको ८ गोलको बराबरी गरेका छन् । तर, बढी ’असिस्ट’ (गरेका कारण एमबाप्पे अहिले ’गोल्डेन बुट’ को दौडमा अगाडि छन् ।
विश्वकपको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानका लागि पनि मेसी र एमबाप्पेबीच कडा प्रतिस्पर्धा देखिएको छ । ३९ वर्षीय मेस्सीको नाममा २१ गोल छ भने २७ वर्षीय एमबाप्पे २० गोलमा पुगिसकेका छन् ।





















