नेपालका धेरै सहरहरू आज पनि दिनभर व्यस्त हुन्छन् र रात पर्नासाथ सुनसान हुन्छन्। तर विश्वका सफल सहरहरूको विकास हेर्ने हो भने उनीहरूको अर्थतन्त्र केवल दिनमा मात्र चल्दैन, रातमा पनि चलिरहन्छ। यही कारणले आज विश्वभर “Night–time Economy ” अर्थात् रात्रीकालीन अर्थतन्त्र लाई सहर विकासको महत्वपूर्ण आधारका रूपमा लिइन्छ। प्रश्न अब बुटवलका लागि पनि यही हो—हामी बुटवललाई साँच्चै आर्थिक, पर्यटकीय र स्मार्ट सहर बनाउन चाहन्छौँ कि सधैँ सानो–सानो विवादमै अल्झिएर त्यसका सम्भावनालाई सीमित बनाइरहने हो?
रुपन्देही आज लुम्बिनी प्रदेशको आर्थिक मेरुदण्ड हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भारतसँगको प्रमुख व्यापारिक नाका, लुम्बिनी विश्व सम्पदा क्षेत्र, उद्योग, शिक्षा, स्वास्थ्य सेवा र तीव्र सहरीकरणले यस क्षेत्रलाई स्वाभाविक रूपमा लगानी र पर्यटनको केन्द्र बनाएको छ। यस्तो अवस्थामा बुटवल, सिद्धार्थनगर र तिलोत्तमामा होटल, रेस्टुरेन्ट, क्याफे, सांस्कृतिक केन्द्र, नाइट क्लब तथा मनोरञ्जन उद्योगको विकास हुनु कुनै अस्वाभाविक कुरा होइन; यो बदलिँदो अर्थतन्त्रको स्वाभाविक परिणाम हो ।
तर विडम्बना के छ भने हामी सहरको दीर्घकालीन विकासभन्दा तत्कालीन विवादमा बढी केन्द्रित हुन्छौँ। कुनै एउटा घटना भएपछि सम्पूर्ण व्यवसायलाई दोषी ठहर गर्ने, लगानीलाई शंकाको दृष्टिले हेर्ने र समाधानका रूपमा प्रतिबन्ध रोज्ने प्रवृत्तिले न त सहरको विकास हुन्छ, न त रोजगारी बढ्छ। व्यवसाय आफैँ समस्या होइन; समस्या कमजोर नियमन, अपर्याप्त सुरक्षा र कानूनको असमान कार्यान्वयन हो ।
यही सन्दर्भमा रुपन्देहीमा नाइट क्लबहरूलाई राति ११ बजेसम्म मात्र सञ्चालन गर्न दिने विषयमा भइरहेको बहसलाई पनि फराकिलो दृष्टिकोणबाट हेर्न आवश्यक छ । सार्वजनिक शान्ति र सुरक्षाको जिम्मेवारी राज्यको हो, तर त्यसको समाधान केवल सञ्चालन समय घटाउनु मात्र हुन सक्दैन । यस्तो नीतिले पर्यटन, होटल, यातायात, खाद्य व्यवसाय, सांस्कृतिक उद्योग तथा हजारौँ प्रत्यक्ष–अप्रत्यक्ष रोजगारीमा कस्तो असर पार्छ भन्ने गम्भीर अध्ययन हुनुपर्छ। यदि लगानीकर्ताले नीति हरेक दिन परिवर्तन हुने देखे भने नयाँ लगानी रोकिन्छ, सञ्चालनमा रहेका व्यवसाय पनि पलायन हुन सक्छन्। अन्ततः त्यसको मूल्य स्थानीय अर्थतन्त्र र युवाहरूले चुकाउनुपर्छ ।
आज समयको माग व्यवसायलाई साँघुरो बनाउने होइन, रात्रीकालीन अर्थतन्त्रलाई सुरक्षित, व्यवस्थित र आधुनिक बनाउने हो। २४ घण्टा सिसिटिभी निगरानी, डिजिटल आईडि भेरिफिकेशन, प्रशिक्षित सुरक्षा गार्ड, लागूऔषधविरुद्ध शून्य सहनशीलता, महिला सुरक्षा संयन्त्र, ध्वनि प्रदूषण नियन्त्रण, नियमित निरीक्षण तथा नियम उल्लङ्घन गर्नेमाथि कठोर कारबाहीजस्ता मापदण्ड लागू गर्न सकियो भने व्यवसाय पनि सुरक्षित हुन्छ, नागरिक पनि सुरक्षित हुन्छन् र राज्यको विश्वसनीयता पनि बढ्छ ।
तर बुटवलको भविष्य केवल नाइट क्लबमा सीमित छैन । अब सहरको विकासलाई समग्र रूपमा हेर्ने बेला आएको छ। बुटवलसँग तिनाउ नदी छ, सिद्धबाबाको धार्मिक आस्था छ, चुरेको प्राकृतिक सौन्दर्य छ, लुम्बिनीसँगको निकटता छ र अन्तर्राष्ट्रिय विमानस्थलसँगको सहज पहुँच छ। यी सबैलाई एउटै दीर्घकालीन विकास अवधारणामा जोड्न सकियो भने बुटवल नेपालकै नमुना सहर बन्न सक्छ ।
कल्पना गरौँ—तल्लो सिद्धबाबादेखि माथिल्लो पाल्पा सीमासम्म हरियालीयुक्त सुरक्षित पदमार्ग बनेको छ। बिहान योग, ध्यान र पदयात्रा गर्नेहरू देखिन्छन्। साँझपख मन्दिर परिसरमा सुमधुर भजन, आध्यात्मिक संगीत र प्रवचनले वातावरणलाई शान्त र जीवन्त बनाइरहेको छ । धार्मिक पर्यटन केवल दर्शनमा सीमित नभई आध्यात्मिक अनुभवमा रूपान्तरण भएको छ ।
त्यसैगरी तिनाउ नदी किनारलाई आधुनिक रिभरसाइड प्रोमेनेड का रूपमा विकास गर्न सकिन्छ। आकर्षक पदमार्ग, साइकल लेन, खुला क्याफे, स्थानीय परिकार, हस्तकला बजार, खुला सांस्कृतिक मञ्च, परिवारमैत्री मनोरञ्जन क्षेत्र, कलात्मक प्रकाश व्यवस्था र सुरक्षित रात्रीकालीन बजारले बुटवललाई नयाँ पहिचान दिन सक्छ । तिनाउ पुलदेखि नयाँ बन्ने पुलसम्मको क्षेत्रमा प्राकृतिक स्वरूपसँग मेल खाने झरना, जलदृश्य र सौन्दर्यीकरणले नदीलाई सहरको केन्द्रबिन्दु बनाउन सकिन्छ ।
नुवाकोट क्षेत्रलाई आधुनिक दृश्यावलोकन केन्द्रका रूपमा विकास गर्दै ग्लास स्काईवाक, विशाल धार्मिक प्रतीक (गणेश वा शिवको मूर्ति) र आधुनिक भ्यू टावर निर्माण गर्न सकिन्छ । बेलबासतर्फको क्षेत्रलाई हरियाली, सरसफाइ, साइकल लेन र पर्यटकमैत्री पूर्वाधारसहित विकास गर्दै यी सबै गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोड्न सकिन्छ । यस्तो योजना बनेमा बुटवल केवल बाटो हुँदै जाने सहर रहने छैन; केही दिन बस्न मन लाग्ने गन्तव्य बन्नेछ ।
यसरी विकास भएको सहरमा रात्रीकालीन बजार, कफी संस्कृति, सांस्कृतिक कार्यक्रम, कला, संगीत, धार्मिक पर्यटन र व्यवस्थित मनोरञ्जन उद्योगले हजारौँ रोजगारी सिर्जना गर्नेछ। होटल, रेस्टुरेन्ट, यातायात, कृषि उत्पादन, हस्तकला, स्थानीय उद्यम र सेवा क्षेत्र सबैले प्रत्यक्ष लाभ पाउनेछन् । स्थानीय सरकारको राजस्व बढ्नेछ, निजी लगानी आकर्षित हुनेछ र युवाले आफ्नै सहरमा भविष्य देख्न थाल्नेछन् ।
निस्सन्देह, विकाससँग जिम्मेवारी पनि जोडिएको हुन्छ। स्थानीय बासिन्दाको शान्ति, ध्वनि प्रदूषण नियन्त्रण, लागूऔषधविरुद्ध कडा निगरानी, महिला तथा बालबालिकाको सुरक्षा, ट्राफिक व्यवस्थापन र कानूनको निष्पक्ष कार्यान्वयन कुनै पनि अवस्थामा कमजोर हुनु हुँदैन । आधुनिक सहरको आधार स्वतन्त्रता मात्र होइन, अनुशासन र उत्तरदायित्व पनि हो ।
नाइट क्लब, पब तथा अन्य रात्रीकालीन मनोरञ्जन व्यवसायलाई राज्यले स्वतः अपराधसँग जोडेर हेर्नु उचित हुँदैन । यी व्यवसायहरू स्वभावतः रातिको समयमा सञ्चालन हुने सेवा क्षेत्रका व्यवसाय हुन्, जसले मनोरञ्जन, पर्यटन, आतिथ्य उद्योग र स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउँछन्। यदि कुनै व्यवसायलाई सरकारले कानुनबमोजिम दर्ता, इजाजत र कर प्रणालीभित्र सञ्चालन गर्न अनुमति दिएको छ भने त्यसलाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन हुने वातावरण सिर्जना गर्नु पनि राज्यकै दायित्व हो । सरकारले स्पष्ट मापदण्ड बनाउने, कडाइका साथ लागू गर्ने, नियमित अनुगमन गर्ने, सुरक्षा सुनिश्चित गर्ने र नियम उल्लङ्घन गर्नेमाथि निष्पक्ष तथा कडा कारबाही गर्ने जिम्मेवारीबाट पछि हट्न मिल्दैन । केही व्यक्तिको गैरकानुनी गतिविधिका आधारमा सम्पूर्ण व्यवसायलाई शंकाको दृष्टिले हेर्ने वा व्यवसायलाई नै दोषी ठहर गर्ने प्रवृत्तिले न सुशासन स्थापित गर्छ, न लगानीमैत्री वातावरण निर्माण गर्छ। राज्यको भूमिका व्यवसायलाई अनावश्यक रूपमा डराउने होइन, जिम्मेवार र सुरक्षित रूपमा सञ्चालन हुने वातावरण सुनिश्चित गर्ने हो। यही दृष्टिकोणले मात्र पर्यटन, लगानी र आर्थिक विकासलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन सक्छ ।
बुटवलसँग अवसर छ, सम्भावना छ र आवश्यक आधार पनि छ । अब आवश्यक कुरा केवल दूरदृष्टि भएको नेतृत्व, दीर्घकालीन गुरुयोजना र नीतिगत स्थिरता हो । हामीले आज निर्णय गर्नुपर्ने कुरा एउटै छ—हामी प्रतिबन्धमुखी सहर बनाउने कि सम्भावनामुखी सहर ?
यदि बुटवललाई साँच्चै आर्थिक राजधानी, पर्यटकीय गन्तव्य र स्मार्ट सिटी बनाउने हो भने अब हाम्रो लक्ष्य केवल दिनमा चल्ने सहर होइन, सुरक्षित, व्यवस्थित, आध्यात्मिक, सांस्कृतिक र आर्थिक रूपमा २४ घण्टा जीवन्त रहने बुटवल हुनुपर्छ। किनभने भविष्यका सफल सहरहरू सडक र भवनले होइन, दूरदृष्टि, सुशासन, लगानीमैत्री वातावरण र दिन–रात निरन्तर चलिरहने आर्थिक गतिविधिले चिनिन्छन् ।
अब बहस व्यवसाय बन्द गर्ने कि खोल्ने भन्नेमा सीमित नरहोस् । बहस अब यस्तो होस—आगामी पुस्तालाई हामी कस्तो बुटवल हस्तान्तरण गर्दैछौँ?
–किरण ढकाल, बुटवल





















