काठमाडौं, २५ असार ।
नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको करोडौं रुपैयाँ बराबरको ठगी प्रकरणमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
सीआईबीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल बाल संगठन तथा बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन, सरकारी जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा दर्ता भएको ठगी मुद्दामा अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूले बाल मन्दिरबाट अनियमित रूपमा रकम लिई ठगी गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा नेपाल बाल संगठन, केन्द्रीय कार्यालय बाल मन्दिर, नक्सालका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, नेपाल बाल संगठन जिल्ला कार्य समिति ललितपुरका तत्कालीन सभापति ओमकृष्ण कर्मचारी तथा नेपाल बाल संगठन जिल्ला कार्य समिति काठमाडौंका तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार उनीहरूलाई असार २४ गते विभिन्न स्थानबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ । बाल मन्दिरमा भएको आर्थिक अनियमितता र ठगीसम्बन्धी घटनाको विस्तृत अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।






















