दाङ, २५ असार ।
लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबरको विनियोजन विधेयक बहुमतले पारित गरेको छ । बुधबार बसेको प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत १७ औँ बैठकले बजेटमाथिको छलफल टुंग्याउँदै विनियोजन विधेयकलाई स्वीकृति दिएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सञ्चित कोषबाट आगामी आर्थिक वर्षका लागि सेवा तथा कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन र खर्च गर्ने व्यवस्था सम्बन्धी विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा पेश गरेका थिए । सभामुख तुलाराम घर्तीले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमतबाट स्वीकृत भएको घोषणा गरे ।
पारित बजेटअनुसार चालु खर्चतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । बाँकी रकम वित्तीय व्यवस्थापन तथा अन्य शीर्षकमा छुट्याइएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो । त्यसपछि असार २१ गतेदेखि लगातार चार दिनसम्म बजेटमाथि विस्तृत छलफल भएको थियो । छलफलमा सत्ता पक्ष र प्रतिपक्षका प्रदेश सभा सदस्यहरूले बजेटका प्राथमिकता, कार्यान्वयन, स्रोत व्यवस्थापन तथा विकास आयोजनाका विषयमा सुझाव र धारणा राखेका थिए । उठेका जिज्ञासा तथा प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्यले दिए ।






















