भैरहवा, २४ असार ।
रुपन्देही प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका–७ बनगाई क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको संयुक्त टोलीले मंगलबार अपराह्न करिब ३ः४५ बजे भारततर्फ दर्ता भएको यूपी ५५ एयू ९९७६ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो ।
खानतलासीका क्रममा मोटरसाइकलमा सवार रुपन्देहीको मर्चवारी गाउँपालिका–४ निवासी १९ वर्षीय बलेश चमार र सोही स्थानका २६ वर्षीय भोला चमारको साथबाट लागूऔषध बरामद भएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट बुप्रेनोर्फिन १०० एम्पुल, डाइजेपाम १०० एम्पुल र फेनारगन १०० एम्पुल गरी कुल ३०० एम्पुल लागूऔषध बरामद गरिएको छ । घटनाका सम्बन्धमा पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले बताए ।





















