Spread the love

काठमाडौं, २४ असार ।

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको सुरुआतमै इजिप्टले आक्रामक प्रदर्शन गर्दै १५औँ मिनेटमा यासिर इब्राहिमको गोलमार्फत अग्रता लिएको थियो । १९ औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पाए पनि कप्तान लियोनेल मेस्सी गोल गर्न असफल हुँदा पहिलो हाफ इजिप्ट १–० को अग्रतासहित समाप्त भयो ।

दोस्रो हाफको ५७ औँ मिनेटमा मोस्तफा जिकाले इजिप्टका लागि दोस्रो गोल गरे पनि भिडियो सहायक रेफ्रीले त्यसअघि फाउल भएको देखाएपछि गोलले मान्यता पाएन । तर, ६६औँ मिनेटमा जिकाले पुनः गोल गर्दै इजिप्टलाई २–० को बलियो अग्रता दिलाए । दुई गोलले पछि परेको अर्जेन्टिनाले त्यसपछि अविश्वसनीय पुनरागमन गरेको थियो । ७८ औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए भने ८३ औँ मिनेटमा कप्तान मेस्सीले बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काए । इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गरेपछि अर्जेन्टिनाले ३–२ को रोमाञ्चक जित हात पार्दै अन्तिम आठमा स्थान बनायो । दुई गोलले पछि परेको अवस्थाबाट निकालिएको यो जित अर्जेन्टिनाका लागि विश्वकप इतिहासकै स्मरणीय पुनरागमनमध्ये एक बनेको छ ।

उता, स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । स्विट्जरल्यान्डका लागि ग्रानिट झाका, जेकी आम्डोनी, सेड्रिक इटेन र रुबिन भार्गासले पेनाल्टीमा गोल गरे। कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले मात्र गोल गर्न सफल भए भने डाभिन्सन सान्चेज र कुचो हर्नान्डेज पेनाल्टीमा चुके ।

स्विस गोलरक्षक ग्रेगर कोबेलले महत्वपूर्ण बचाउ गर्दै टोलीलाई जित दिलाए । अब अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइनलमा स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । यससँगै विश्वकप २०२६ का अन्तिम १६ का सबै खेल सकिएका छन् । अब क्वाटरफाइनलमा फ्रान्स–मोरक्को, स्पेन–बेल्जियम, नर्वे–इङ्गल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्