बुटवल, २० असार ।
शहरको व्यस्त जीवनशैलीबीच गाउँको स्वाद, संस्कृति र स्थानीय उत्पादनलाई एकै थलोमा उपलब्ध गराउने उद्देश्यसहित बुटवलमा ‘गाउँको घर’ सञ्चालनमा आएको छ । गाउकै झल्को दिने आर्कषक घरसहित गाउघरकै परिकारहरु यहा उपलब्ध हुन्छ । “गाउँको तरकारी, गाउँको कोसेली, गाउँको पोसाक र गाउँको कफी“ भन्ने मूल नाराका साथ सञ्चालनमा आएको यस प्रतिष्ठानले स्थानीय किसान, घरेलु उद्यमी तथा साना उत्पादकका वस्तुलाई उपभोक्तासम्म प्रत्यक्ष रूपमा पु¥याउने लक्ष्य लिएको सञ्चालक समुद्र घिमिरेले जानकारी दिए । उनका अनुसार ‘गाउँको घर’मा ताजा तथा विषादी न्यूनीकरण गरिएका तरकारी, गाउँघरमा उत्पादन हुने मौलिक कोसेली सामग्री, परम्परागत पोसाक तथा स्थानीयस्तरमा उत्पादन गरिएको शुद्ध कफी एकै स्थानबाट खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
स्थानीय उत्पादनको प्रयोग र प्रवद्र्धनले कृषि, वातावरण संरक्षण तथा ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ। किसानबाट उपभोक्तासम्मको दूरी छोट्याएर स्थानीय उत्पादनको खपत बढाउने र आयातित वस्तुप्रतिको निर्भरता कम गर्न पनि यस अवधारणाले योगदान पु¥याउने अपेक्षा गरिएको छ । प्रतिष्ठानले बुटवलका उपभोक्तालाई गाउँको मौलिक स्वाद र पहिचानसँग जोड्नुका साथै स्थानीय उत्पादनलाई उचित बजार उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ । ‘गाउँको घर’को उद्घाटन समारोह असार ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ । आयोजकले स्थानीयवासी तथा सरोकारवालालाई उद्घाटन कार्यक्रममा सहभागी भई स्थानीय उत्पादनको प्रवद्र्धनमा साथ दिन आग्रह गरेका छन् ।





















