बुटवल, १८ असार ।
रुपन्देहीका दुई स्थानमा सर्वसाधारणको घाँटीबाट सुनका सिक्री लुट्ने (स्न्याचिङ) घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट लुटिएका सुनका सिक्री र प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पछिल्लो समय भएका सिक्री स्न्याचिङका घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले दुई फरक घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको हो ।
असार १७ गते गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरा हाटबजारमा भीडभाडको मौका छोपी एक व्यक्तिको घाँटीमा रहेको गणेश भगवानको लकेटसहितको सुनको सिक्री लुटिएको थियो । घटनापछि भाग्दै गरेका जिल्ला बारा बारागढी गाउँपालिका–३ शिवपुराका २५ वर्षीय विकास रायलाई इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट १० ग्राम ८३० मिलिग्राम तौलको सुनको सिक्री बरामद गरेको जनाएको छ ।
यस्तै असार १० गते तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलस्थित चाँदनीमार्गमा पैदल हिँडिरहेका एक व्यक्तिको घाँटीबाट मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले सुनको सिक्री लुटेका थिए । उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले भारतको गोरखपुरका ३२ वर्षीय राहुल जयसवाल, भारतको महाराजगञ्जका २२ वर्षीय प्रिन्स जयसवाल, भारतको बिहारका ३० वर्षीय नितेश कुमार गुप्ता तथा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ का ३२ वर्षीय प्रदीप कान्दुलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट २.९९ लाल ७ पोइन्ट तौलको एक थान सुनको सिक्री, ९० लाल ७ पोइन्ट तौलको अर्को एक थान सुनको सिक्री तथा लु ६५ प २९३१ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।





















