Spread the love

बुटवल, १४ असार ।
देशभर असारले किसानलाई धान रोपाइँको व्यस्तता दिएको छ । तर, नवलपरासीको सुस्तामा भने किसानहरू खेतमा रोपाइँभन्दा आफ्नो जग्गाको स्वामित्व र सुरक्षाको चिन्तामा छन् । सीमावर्ती विवाद र जग्गासम्बन्धी अन्योलका कारण उनीहरूको मुख्य चिन्ता अन्न उत्पादन होइन, आफ्नो भूमि जोगाउनु बनेको छ । पछिल्लो जेठ ९ गते भारतीय एसएसबि नेपाली भुभागमा प्रवेश गरेको घटनासंगै अहिले उनिहरु ससंकित भएका छन ।

सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानको आईतबार बुटवलमा भएको पत्रकार सम्मेलमा अभियानका अध्यक्ष आदम खाँले नेपालको भूमि तथा सीमामाथिको अतिक्रमण रोक्न सरकारबाट तत्काल प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने माग गरे । सुस्ता क्षेत्रको सीमा समस्या दशकौँदेखि समाधान हुन नसकेको भन्दै त्यसको स्थायी समाधान गर्न आफुहरु सरकार गुहार्न काठमाण्डौ जाने तयारीमा रहेको बताए । हरेक राजनीतिक सरकार प्रमुखमा रहदा आफुहरु यस विषयमा जानकारी गराएको भन्दै उनले सत्तामा पुग्दा सीमाबारे नेतृत्वबाट पहल नभएको समेत गुनासो गरे ।

नयाँ सरकार गठनसंगै आफुहरु परिचय, आधारभुत आवश्यकता र सीमा बिबादको कूटनीतिक तथा राजनीतिक समाधान हुने अपेक्षा गरेका भएपनि पछिल्ला घटनाक्रमले सुस्ताबासीमा पुरानै चिन्ता र असुरक्षा सिर्जना गरेको दुखेसो गरे । उनले सीमाजस्तो संवेदनशील विषयमा सरकारका जिम्मेवार पदाधिकारीहरूले आधिकारिक अभिलेख र तथ्य अध्ययन नगरी सार्वजनिक अभिव्यक्ति नदिन पनि आग्रह गरे । नारायणी नदीको कटान रोक्न निर्माण भइरहेको १३२ मिटर ग्याबिन जालीको काममा भारतीय पक्षले अवरोध गरेको तथा भारतीय वन विभागले नदीतर्फ तारबार निर्माण अघि बढाएको उनले बताए ।
अभियानका प्रवक्ता रविन्द्र जैसवालले २०२५ सालदेखि बसोबास गर्दै आएका सुस्ताका धेरै नागरिक अझै पनि नेपाली नागरिकताबाट वञ्चित रहेको जानकारी दिए । उनका अनुसार २८० घरधुरी रहेको सुस्तामा हालसम्म १२० घरधुरीका नागरिकले नागरिकता प्राप्त गर्न सकेका छैनन् । उनले सुस्ताको भूमि सुरक्षा, नागरिकता वितरण, लालपुर्जा उपलब्ध गराउने तथा आधारभूत सेवाको सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराए ।

यो अभियान कुनै राजनीतिक दलप्रति आग्रह वा पूर्वाग्रहका आधारमा नभई सीमा रक्षा र सुस्ता भूमिको स्थायी समाधानका लागि सञ्चालन गरिएको स्पष्ट पार्दै जैसवालले सरकारले आवश्यक पहल नगरे काठमाडौं केन्द्रित थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिए ।

अभियानका अगुवा सेनानी मुन्ना खाँले वर्षौँदेखि भारतीय एसएसबीसँग सामना गर्दै नेपाली भूमि जोगाइरहेका सुस्ताबासीलाई तत्काल नागरिकता उपलब्ध गराउन र भोगचलनमा रहेको जग्गाको नापजाँच गरी लालपुर्जा वितरण गर्न सरकारसँग माग गरे । नागरिकता नहुँदा शिक्षा, स्वास्थ्य तथा अन्य सरकारी सेवामा पहुँच पुग्न नसकेको उनले बताए ।
अभियानकी महिला नेतृ नुरजहा लैला बेगम खाँले आवश्यक परे गोली खाएर भए पनि नेपाली भूमि जोगाउन आफूहरू तयार रहेको बताइन् ।

सुस्ता बचाउ युवा अभियानका अध्यक्ष योगेन्द्र गौतमका अनुसार सरकारी अभिलेखमा सुस्ता क्षेत्रमा करिब ४० हजार ९८० हेक्टर नेपाली भूमि रहेको उल्लेख भए पनि हाल करिब ७ हजार हेक्टर क्षेत्र मात्रै नेपालीको भोगचलनमा छ । बाँकी भूमि भारतीय सुरक्षा बलको अतिक्रमण तथा विवादमा रहेको उनले दाबी गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्