काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी विभिन्न दलका शीर्ष नेताहरूले पार्टीले प्राप्त गरेको जनमतको संरक्षण गर्दै आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्न, सुशासनको अभियानलाई प्रभावकारी बनाउन र संवैधानिक दायराभित्र रहेर राजनीतिक यात्रा अघि बढाउन सुझाव दिएका छन् ।
शुभकामना मन्तव्यका क्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनमतप्रति उत्तरदायी बन्न नसक्दा राजनीतिक दलहरू विगतमा सत्ताको उन्माद र आन्तरिक द्वन्द्वका कारण कमजोर बनेको स्मरण गराउँदै रास्वपाले त्यस्ता गल्ती दोहोर्याउन नहुने बताए । उनले कांग्रेस र रास्वपा प्रतिस्पर्धी भए पनि शत्रु नभएको स्पष्ट गर्दै संसद्मा आवश्यक ठाउँमा समर्थन र आवश्यक ठाउँमा खबरदारी गर्ने धारणा राखे ।
थापाले विगतको राजनीतिक आन्दोलन र लोकतान्त्रिक संघर्षलाई नकार्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै लोकतन्त्र सहिदहरूको बलिदानबाट प्राप्त भएको इतिहास बिर्सन नहुने बताए । गरिबी, विभेद र अक्षमताविरुद्धको साझा संघर्षमा सहकार्य हुन सक्ने उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाको उदयलाई नेपाली राजनीतिमा वैकल्पिक शक्तिको उदयका रूपमा व्याख्या गर्दै नयाँ पुस्ताको काँधमा सुशासन र समृद्धिको नेतृत्व गर्ने जिम्मेवारी आएको बताए । उनले रास्वपाको सफलतालाई कुनै बाह्य शक्तिसँग जोड्ने तर्कको खण्डन गर्दै युवा पुस्ता परिवर्तन र न्यायको पक्षमा उभिएको उल्लेख गरे ।
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले महाधिवेशनले केवल नेतृत्व चयनमा सीमित नभई पार्टीको स्पष्ट विचार, नीति र मार्गचित्र तय गर्नुपर्ने बताए । उनले संविधानवाद, विधिको शासन, सामाजिक न्याय र उत्तरदायी राज्यको अवधारणालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।
नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सुशासन र भ्रष्टाचार नियन्त्रणका एजेन्डामा रास्वपासँग कार्यगत सहकार्य रहँदै आएको उल्लेख गर्दै परिवर्तनका नाममा चालिने कदमहरू संविधान र विधिको सीमाभित्र हुनुपर्ने धारणा राखे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीमै सुधार आवश्यक रहेको बताउँदै रास्वपाले पाएको अवसरको सदुपयोग गर्न नसके त्यसको असर पार्टी मात्र होइन, देशमै पर्ने चेतावनी दिए ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आर्थिक रूपान्तरण र समृद्धिका लागि दलहरू साझा मुद्दामा सहकार्य गर्नुपर्ने बताए भने जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रास्वपाको महाधिवेशनलाई परिवर्तनको आकांक्षा बोकेको युवाको उत्सवको संज्ञा दिए । महाधिवेशनका अवसरमा भारत, चीनसहित दक्षिण एसियाका विभिन्न राजनीतिक दलहरूबाट शुभकामना सन्देश प्राप्त भएको रास्वपाले जनाएको छ । बन्दसत्र उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा सञ्चालन हुने र त्यसमा चार हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने बताइएको छ ।





















