बुटवल, ७ असार ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रुपन्देहीको आयोजनामा पहिलोपटक छात्र÷छात्रा फुटसल प्रतियोगिता शुरु भएको छ । आईतबार भएको उद्घाटन खेलमा बुद्ध पब्लिक देवदहले काशी नोबल एकेडेमीलाई सडेन डेथमा पराजित गर्दै दोस्रो चरणमा प्रवशे गरेको हो । योगीकुटीस्थित स्वर्णिम फुटसल एरिनामा भएको खेलको निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा पनि बराबरीभएपनि सडेन डेथमा बुद्ध पब्लिक विजयी भएको थियो ।
दुई दिने प्रतियोगिताको आईतबार प्याब्सनका केन्द्रिय उपाध्यक्ष टिकाराम न्यौपानेले मुख्य रेफ्रिलाई बल हस्तान्तरण गर्दै उद्घाटन गर्दै खेल प्रतियोगिता विद्यार्थीहरुलाई शारीरिक र मानसिक रुपमा सबल तन्दुरुष्ट बनाउन सहयोग गर्ने बताए । रुपन्देहीका अधिकाश निजी विद्यालयहरु प्रशिक्षकबाट खेल सिकाउने र प्रतियोगितामार्फत खेलाडीहरुमा स्वच्छ प्रतिस्प्रर्धा गराउने गरि कार्यक्रम गर्दै आएको उनले बताए ।
कार्यक्रममा प्याब्सनका केन्द्रिय सचिवालय सदस्य खेमेन्द्र राना, अभिभावक संघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, प्याब्सन जिल्लाका वरिष्ठ उपाध्यक्ष कुलराज शर्मा, सचिव भोजराज गौडेलले शैक्षिकसंगै खेलकुद बालबालिकाहरुलाई अनिवार्य हुने हुदा पनि यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा प्याब्सन रुपन्देही जिल्ला अध्यक्ष दिपक खनालले शिक्षा र खेलकुदको महत्वबारे प्रकाश पार्दै खेलकुदमा राम्रो गर्ने धेरै खेलाडीहरु पढाईमा समेत अब्बल रहने उदाहरण पेश गरे । प्रतियोगितामा उपाधि विजेता टिमलाई नगद १५ हजार, उपविजेता टिमलाई नगद १० हजार तथा तृतिय टिमलाई नगद ५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक एनबि क्षेत्रीले बताए । प्रतियोगितामा छात्रतर्फ ३४ र छात्रातर्फ १० टिमहरुहरु सहभागी रहेका छन ।





















