चितवन,६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपांको महाधिवेशनमा विद्युतीय मतदान हुने भएको छ । मतदाताहरुले विद्युतीय उपकरणमा उम्मेदवारहरुको नाम र फोटोमा छोएर मतदान गर्न सकिने रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताए ।
महाधिवेशनमा पहिलो चरणको मतदान गर्न करिब छ घण्टा लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्यका लागि मतदान गरिने छ । प्रमुख केसीका अनुसार निर्वाचित भएका सदस्यहरुबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि निर्वाचन गरिने छ ।
प्रमुख केसीका अनुसार असार ८ गते रातिसम्ममा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार ९ गते हुनेछ । महाधिवेशनमा तीन हजारको हाराहारी प्रतिनिधि हुने अनुमान रहेको गरिएको छ । बिदेशबाट आउन नसकेका प्रतिनिधिका लागि रास्वपाको आफ्नै एपमार्फत मतदानको व्यवस्था मिलाएको छ ।





















