बुटवल, ३ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा हुने केन्द्रीय महाधिवेशनमा बुटवलका सामाजिक अभियन्ता अमृत भुषाल (पियुष) ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।
पार्टीको असार ७, ८ र ९ गते आयोजना हुने महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिने कार्यक्रम रहेको छ । सोही क्रममा भुषालले केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनि रास्वपाको केन्द्रीय स्वास्थ्य विभागमा मनोनित समेत छन ।
भुषाल बुटवलमा लामो समयदेखि दन्त स्वास्थ्य सेवामा सक्रिय रहँदै आएका छन् । दन्त उपचार सेवासँगै विभिन्न सामाजिक गतिविधि र जनहितका अभियानमा उनको सक्रिय सहभागिता रहँदै आएको छ ।
सामाजिक सेवामार्फत स्थानीय स्तरमा परिचित भुषालले पार्टी संगठन सुदृढीकरण, सुशासन र जनमुखी राजनीतिक अभ्यासलाई प्राथमिकतामा राखेर उम्मेदवारी दिएको बताएका छन् ।
रास्वपाको आगामी महाधिवेशनलाई पार्टीको संगठन विस्तार, नीति निर्माण तथा नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।





















