अर्घाखाँची, ३ असार ।
छत्रदेव गाउँपालिकाका सरकारी कर्मचारी र शिक्षकहरुलाई सूचना तथा सञ्चार प्रविधि (आईसीटी) र कृत्रिम बुद्धिमत्ता (एआई) तालिम दिईएको छ । रोटरी क्लब बुटवल डाउनटाउन र छत्रगञ्ज–रूपन्देही सम्पर्क समाजको संयुक्त आयोजना तथा छत्रदेव गाउँपालिकाको सहयोगमा दुईदिने तालिम दिईएको हो ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकास्थित सेमिनार हलमा आयोजित तालिममा छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष मनी पन्थी, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, रोटरी क्लब बुटवल डाउनटाउनका पूर्वअध्यक्षहरू राजेन्द्र ढकाल, जीवनप्रसाद अधिकारी, निर्वाचित अध्यक्ष धर्मदत्त ज्ञवाली, डीबी रायमाझी, मनोज भुसाललगायतले तालिमबाट हुने उपलब्धिबारे प्रकाश पारे ।
कार्यक्रममा रोटरी क्लब बुटवल डाउनटाउनका अध्यक्ष बाबुराम बन्जाडेले रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानको डीडीएफ ग्रान्ट अन्तर्गत आईसीटी परियोजनामार्फत कार्यक्रम गरिएको बताए । यसप्रकारको क्षमता अभिवृद्धि कार्यक्रमले कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्ने तथा प्रविधिमैत्री सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुग्ने उनको दाबी छ ।
छत्रगञ्ज–रूपन्देही सम्पर्क समाजका अध्यक्ष सिद्धार्थ पन्थीले समयसापेक्ष कर्मचारीहरुलाई क्षमता विकास हुने गरि तालिम गरिएको भन्दै डिजिटल युगमा कर्मचारी तथा शिक्षकहरू कृत्रिम बुद्धिमत्तासम्बन्धी ज्ञान र सीपमा दक्ष हुन आवश्यक रहेको बताए ।
तालिमको सहजीकरण गर्दै एआई विशेषज्ञ अमृत पन्थीले कृत्रिम बुद्धिमत्ताको अवधारणा, प्रयोगका क्षेत्र, शैक्षिक तथा प्रशासनिक कार्यमा यसको उपयोगिता तथा विभिन्न एआई उपकरणहरूको प्रयोगात्मक अभ्यास गराए ।
तालिममा गाउँपालिकामा कार्यरत कर्मचारी, स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थाका कर्मचारी, माध्यमिक विद्यालयका शिक्षक र कम्प्युटर शिक्षकहरू गरि ६० जनाको सहभागिता रहेको थियो ।





















