Spread the love

बुटवल, २९ जेठ ।
प्रहरी सेवामा आधुनिक प्रविधिको प्रयोग बढाउँदै अपराध तथा दुर्घटना नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले लुम्बिनी प्रदेश प्रहरी कार्यालयले ‘ह्याक फर सेफ्टी २०८३’ तथा जनचेतनामूलक विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तरगतको प्रहरी तालिम केन्द्रमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले जेठ ३०, ३१ र असार १ गते ‘ह्याक फर सेफ्टी २०८३’ लुम्बिनीमा शान्ति पदयात्रा (पिस वाक) र जनचेतनामूलक विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

उनका अनुसार समुदाय केन्द्रित अभियानमार्फत सडक दुर्घटना न्यूनीकरण, आत्महत्या रोकथाम, अपराध नियन्त्रण तथा सामाजिक सचेतना अभिवृद्धिमा विशेष जोड दिइनेछ । कार्यक्रममा सिल्पी थिएटरका कलाकारहरूले जनचेतनामूलक नाटकसमेत प्रदर्शन गर्नेछन् । ‘ह्याक फर सेफ्टी २०८३’ अन्तर्गत आधुनिक प्रविधिको प्रयोगमार्फत प्रहरी सेवालाई थप प्रभावकारी बनाउने विषयमा युवाहरुको प्रतिस्पर्धा गराइएको छ । प्रतियोगितामा दर्ता भएका ३४४ जना सहभागीमध्ये १०० जनाले प्रतिस्पर्धामा सहभागिता जनाएका छन् ।

प्रतियोगिताबाट प्राप्त हुने नवीन योजना र अवधारणालाई नीतिगत रूपमा अघि बढाउने प्रहरीको तयारी रहेको डीआईजी खत्रीले बताए । उनले घरबाटै जाहेरी दर्ता गर्न सकिने प्रणाली, भीड व्यवस्थापन, सुरक्षा निगरानी तथा अपराध अनुसन्धानमा प्रविधिको उपयोगजस्ता विषयमा नयाँ अवधारणा र समाधान खोज्ने प्रयास भइरहेको बताए ।

आधुनिक प्रविधिको प्रयोगमा दिल्ली र मुम्बई प्रहरीको सफल कार्यान्वयनको उदाहरण दिदै उनले नेपाल प्रहरीमा पनि यसलाई महत्वपूर्ण अभियानका रूपमा अघि बढाइएको जानकारी दिए । लुम्बिनी प्रदेशबाट सुरु गरिएको यो अभियान भविष्यमा देशव्यापी रूपमा विस्तार हुनेमा आशावादी रहेको उनको भनाइ छ । ‘सामाजिक प्रतिबद्धता, सुरक्षित समाज’ भन्ने नारासहित सञ्चालन हुने कार्यक्रमले समुदाय र प्रहरीबीचको सम्बन्ध थप सुदृढ गर्नुका साथै आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री प्रहरी सेवाको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्