बुटवल, २९ जेठ ।
बुटवलस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले परीक्षण गरेका कृषि उपजमध्ये एक नमुना काक्रोमा विषादी अवशेषको मात्रा उच्च भेटिएको छ ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको बुटवलस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले २०८३ जेठ २९ गते परीक्षण गरेका १० वटा फलफूल तथा तरकारीका नमुनामध्ये धादिङबाट ल्याइएको काक्रोमा नमुनामा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको अवशेष ३५ देखि ४५ प्रतिशतको बीचमा भेटिएको छ ।
प्रयोगशालाले उक्त काक्रो केही दिन राखेर मात्रै उपभोग गर्न उपयुक्त हुने ईकाइका नायब प्राविधिक सहायक राजीव भण्डारीले बताए । प्रयोगशालाको प्रतिवेदन अनुसार रोप्का कृषक समूह, धादिङबाट संकलित काक्रोको नमुनामा विषादी अवशेषको मात्रा तोकिएको सुरक्षित सीमाभन्दा माथि देखिएपछि ‘क्वारेन्टाइन’ श्रेणीमा राखिएको हो ।
यस्तो अवस्थामा उपजलाई केही दिन राखेर मात्रै बजारमा बिक्री तथा उपभोग गर्न सिफारिस गरिन्छ । त्यसैगरी परीक्षण गरिएका आँप, लिची, गोलभेंडा, च्याउगोभी, भिण्डी, बोडी, तितेकरेला लगायत अन्य नमुनाहरू भने उपभोग योग्य रहेको प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालाले जारी गरेको मापदण्ड अनुसार ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भएको उपज उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर प्रयोग गर्नुपर्ने र ४५ प्रतिशतभन्दा बढी भए तत्काल नष्ट गर्नुपर्ने व्यवस्था रहेको छ ।
बुटवलस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले बजारमा बिक्रीका लागि ल्याइने तरकारी तथा फलफूलको नियमित नमुना परीक्षण गर्दै आएको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा सुरक्षित खाद्य उपभोग सुनिश्चित गर्न यस्ता परीक्षण प्रभावकारी बन्दै गएको सम्बन्धित निकायले जनाएको छ ।





















