भैरहवा, २५ जेठ ।
भारतबाट न्यून धरौटीमा ‘गन्तव्य विवाह कार्यक्रम’ नाममा नेपालमा भित्रने गरेको सामग्री नियन्त्रण गर्न रुपन्देही इभेन्ट व्यवसायी संघले माग राखेको छन । संघका पदाधिकारी तथा सदस्यसहितको टोलीले सोमबार रुपन्देही जिल्ला प्रशासन कार्यालय र भैरहवा भन्सार कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउदै यस्ता गतिविधि रोक्न आग्रह गरे ।
एक कार्यक्रमका बिच संघका अध्यक्ष किरण श्रेष्ठ, उपाध्यक्ष इसराक अलि, सचिव दुर्गेस गुप्ता, सहसचिव वसिम अहमद तथा सदस्यहरु राजेश मिश्रा, कलमुद्धिन, रिसिराम, ईलियास छुरिहार, कृष्ण श्रेष्ठ, सलिम खान, भागिरथ कानुले भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल र जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मेघनाथ पाध्यालाई ज्ञापनपत्र बुझाए ।
ज्ञापनपत्रमा सुनौली नाका हुँदै टेन्ट, लाइट, साउण्ड, फर्निचर लगायतका सामग्री भारतीय व्यवसायीहरूले न्यून धरौटीमा नेपाल भित्र्याएर व्यवसाय सञ्चालन गर्दा नेपाली व्यवसायीहरू प्रत्यक्ष प्रभावित भएको उल्लेख गरिएको छ । नेपालमा विधिवत् दर्ता भई कर तिर्दै व्यवसाय सञ्चालन गरिरहेका स्थानीय व्यवसायीहरू असमान प्रतिस्पर्धामा पर्न बाध्य भएको भन्दै राज्यको राजस्वसमेत प्रभावित हुने अवस्था सिर्जना भएको जनाइएको छ ।
त्यस्तै, नेपाली व्यवसायीहरूले भारतबाट कपडा, आर्टिफिसियल फूल तथा प्राकृतिक फूललगायतका सामग्री ल्याउँदा विभिन्न प्रशासनिक तथा प्रक्रियागत कठिनाइ भोग्नुपरेको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए । संघले ‘गन्तव्य विवाह’ को नाममा हुने यस्ता आयातको प्रभावकारी अनुगमन तथा नियन्त्रण गर्न, स्थानीय व्यवसायीको हित संरक्षण गर्न तथा सहज व्यवसायिक वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै यो नभए चरणवद्ध आन्दोलन घोषण गर्ने बताए ।





















