काठमाडौं ,२१ जेठ ।
एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित प्राप्त गरेको छ । नेपालले बिहीबार भुटानलाई ५१ रनले हराउँदै प्रतियोगितामा जित कायम गरेको छ । मलेसियामा भएको खेलमा नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो ।
भुटानका लागि देचेन वाङ्मोले सर्वाधिक ३९ रन बनाइन् भने चडो ओमले ११ रनको योगदान दिइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालको जितमा बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । रुबिना क्षेत्रीले ३ विकेट लिइन् भने रिया शर्माले २ विकेट हात पारिन् ।
कविता कुँवर र मनिषा उपाध्यायले समान एक–एक विकेट लिए ।कविताले ४ ओभरमा मात्र ५ रन खर्चेर १ विकेट लिइन् भने मनिषाले ४ ओभरमा ७ रन दिएर १ विकेट झारिन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ रन बनाइन् ।
रुबिना क्षेत्रीले २४, सोनी पाख्रिनले १३ तथा सम्झना कुमारीले १० रनको योगदान दिए । भुटानका सोनाम र छिरिङ जाङ्मोले समान ३–३ विकेट लिएर नेपाललाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए । लगातार दोस्रो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ ।





















