काठमाण्डौ ।
रोयल च्यालेन्जर्स बेङलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि रक्षा गरेको छ । आइतबार भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेङलुरु विजेता बनेको हो । यो जितमा विराट कोहलीले अविजित ७५ रन महत्वपूर्ण रहेको थियो । ओपनर कोहलीले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शकमाझ १ सय ५६ रनको लक्ष्य १२ बलअगाडि १ सय ६१ रन बनाउँदै पूरा गरेको थियो । यस प्रतियोगितामा कोहलीको यो पाँचौं अर्धशतक हो ।
स्कोर बराबरी भएको समयमा कोहलीले अर्सद खानको बलमा विजयी रन छक्का प्रहार गर्दै बटुलेका थिए । जितेश शर्मा ११ रन बनाई अविजित रहे । ओपनर वैंकटेस एयर ३२, देवदत्त पाडिकल १, पटिदार १५, क्रुनाल पाण्ड्या १ र टिम डेबिड २४ रनमा आउट भएका थिए । गुजरातका रसिद खानले २ विकेट लिए ।
आईपीएलको १८ औं संस्करणमा आएर बेङलुरुले गत वर्ष पहिलो पटक उपाधि जितेको थियो । रजत पटिदारको कप्तानीमा बेङलुरुले यसपटक उपाधि रक्षा गरेको हो । गुजरात २०२२ मा पहिलो पटक आईपीएल खेल्दै विजेता बनेको थियो ।
यसअघि भारतीय बलर रशिख सलामले ३ विकेट लिएपछि टस हारेर ब्याटिङमा आएको गुजरात ८ बिकेटको नोक्सानीमा १५५ रनको स्कोरमा खुम्चिएको थियो । बेङलुरुका तीब्र बलरहरूले टस जितेर फिल्डिङ गर्ने टोलीको निर्णय सही साबित गराएका थिए । वासिङ्टन सुन्दरले अविजित ५० रन बनाएर केही प्रतिरोध गरे पनि बेङलुरुले निरन्तर विकेट लिइरह्यो । जेसन हेजलउड र भुवनेश्वर कुमारले पनि उत्कृष्ट बलिङ गर्दै २–२ विकेट लिए । हेजलउडले सुरुआतमै शुबमन गिललाई १० रनमा आउट गरे ।
गिल र सु्दर्शन दुवै सर्वाधिक रनका लागि ‘ओरेन्ज क्याप’ को दाबेदारमा थिए । तर उनीहरू चाँडै आउट भएपछि यो उपाधि राजस्थान रोयल्सका १५ वर्षे वैभव सूर्यवंशीले पाएका छन् । उनले सर्वाधिक ७ सय ७६ रन प्रहार गरेका थिए । गिलको ७ सय ३२ र सुदर्शनको ७ सय २२ रन रह्यो ।




















