बुटवल, १६ जेठ ।
लोपन्मुख र परम्परागत खेल प्रवद्र्धन गर्ने उदेश्यका साथ बुटवलमा सम्पन्न दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान (टग अफ वार) प्रतियोगिताको उपाधि फिजिकल फिटनेश सेन्टरले चुमेको छ । रामनगरस्थित रामनगर खेल मैदानमा शनिबार भएको फाईनलमा बुटवल फिटनेशलाई २–० को सोझो सेटमा पराजित गर्दै फिजिकल फिटनेश सेन्टर लगातार च्याम्पियन बनेको हो । उपाधिसंगै फिजिकल फिटनेश नगद ६० हजार ६६६ रुपैयाँ, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भयो ।
उपविजेता बुटवल फिटनेश भने नगद ३० हजार ३३३ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगिता योर्स मल्टि फिटनेश टिम तृतीय हुदै नगद १५ हजार १११ रुपैयाँबाट पुरस्कृत भएको छ ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव चन्द्रकान्त आचार्य, नेकपा एमाले प्रदेश समिति सदस्य बाबुराम भट्टराई, रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष माधव खनाल, जिल्ला सदस्य उमाकान्त बश्याल, जनप्रतिनिधि नहकुल शाही, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, महासंघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सरोज क्षेत्रीले विजेता, उपविजेता टिमलाई पुरस्कार वितरण गरेका छन ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले नगरभित्र निरन्तर खेल गतिविधि भैरहेको बताए । खेलकुदमा डोरी तानजस्तो परम्परागत र अन्तराष्ट्रिय महत्व बोकेको खेलहरुलाई बजेट बिनियोजनमा पालिकाबाट कन्जुस्याई नगरेको उनले बताए । परम्परागत र लोकप्रिय खेलहरु खेलाएर देशमै खेल गतिविधिमा अग्रसर रहेको पालिकाका रुपमा पहिचान बनाउन सफल भएको उनले बताए ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा भएको दुई दिने प्रतियोगितामा १५ टिम बढीको सहभागिता रहने महासंघका सदस्य इप्पल भण्डारीले बताए ।
भिडियो रिर्पोट






















