कपिलवस्तु, ११ जेठ ।
नेपालका जीवन गिरीलाई भारतको सिक्किममा ‘आइरन म्यान अफ नेपाल’को उपाधिबाट सम्मान गरिएको छ । नेपालमा स्ट्रेन्थलिफ्टिङ खेल भित्राएका गिरीलाई खेल क्षेत्रमा गरेको योगदान स्वरुप सिक्किम स्ट्रेन्थलिफ्टिङ एसोसिएसनले शनिबार सम्मान गरेको हो । गिरी छैठौ धर्मश्री विजेता समेत हुन ।
सिक्किमको मंगन जिल्लामा भएको ८ औं स्टेट सिक्किम स्ट्रेन्थलिफ्टिङ एण्ड आईबीपी च्याम्पियनसीप प्रतियोगितामा गिरीलाई उक्त उपाधि प्रदान गरिएको हो । प्रतियोगिताको विशेष अतिथिका रूपमा निम्तो पाएका गिरीलाई सिक्किम राज्यका कोअपरेटिभ सप्लाई एण्ड मार्केटिङ फडरेसन (सिम्फेड)का अध्यक्ष तेन्जिङ दोर्जे भुटियाले उपाधिसहित सम्मानपत्र प्रदान गरे । आइतबार सम्पन्न प्रतियोगितामा सिक्किमका समाज कल्याण, महिला तथा बालबालिका मन्त्री सम्दुप लेप्चाले आफ्ना तर्फबाट १० हजार नगद भारुले गिरीलाई पुरस्कृत पनि गरे । मन्त्री लेप्चा सिक्किम स्ट्रेन्थलिफ्टिङ एसोसिएसनका प्रमुख संरक्षक हुन् ।
कपिलवस्तु नगरपालिका–५, सागरटोलका ५० वर्षीय जीवन गिरी सीमित स्रोत साधनमा बडिबल्डिङ खेलको विकास अग्रसर रहदै नया खेललाई भित्राउन सफल रहेका छन । उनी २०२३ मा भारतको हैदरावादमा वल्र्ड स्ट्रेन्थलिफ्टिङ एसोसिएसनद्वारा आयोजित १० औं वल्र्ड च्याम्पियनसिप प्रतियोगितामा १ सय १५ केजी प्लस तौल समूहमा अमेरिकी खेलाडीलाई पराजित गरेर च्याम्पियन बनेका थिए । प्रतियोगितामा १९ देशका खेलाडी सहभागी थिए ।
स्ट्रेन्थलिफ्टिङको राम्रो र उत्कृष्ट खेलाडी हुँदा उनी स्ट्रेन्थलिफ्टिङको अन्तर्राष्ट्रिय जज (रेफ्री) को मान्यता पनि पाएका छन् । २०२४ मा कजाकस्तानमा भएको ११ औं वल्र्ड च्याम्पियनसिप प्रतियोगितामा निर्णायक बनेका थिए । २०२० मा वल्र्ड पावरलिफ्टिङ फेडरेसन (डब्लूपीएफ) एसिया उपाध्यक्षसमेत भए । अहिले त्यो छाडेर उनी वल्र्ड स्ट्रेन्थलिफ्टिङ एसोसिएसनको ९ सदस्यीय कार्यकारी समितिका सदस्य छन् । उनले नै २०२१ मा नेपालमा स्ट्रेन्थलिफ्टिङ खेल भित्र्याएका हुन् । उनी नेपाल स्ट्रेन्थलिफ्टिङ एसोसिएसनका संस्थापक महासचिव पनि हुन् । उनले २०२३ मा काठमाडौंमा स्ट्रेन्थलिफ्टिङको अन्तर्राष्ट्रिय प्रतियोगिता गराएका थिए ।
नेपालसहित भारत, पाकिस्तान, ताजकिस्तान र किर्गिस्तानका खेलाडी सहभागी थिए । लुम्बिनी प्रदेश सरकारले उनलाई खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ०७९ मा प्रदेश रत्न विभूषण पनि प्रदान गरेको थियो । खेलकुदकै माध्यमबाट जोडिएर चीन, बेलायत, जापान, अस्ट्रेलिया, मलेसिया र बंगलादेश लगायत १८ बढी मुलुक घुमेका छन् ।




















