बुटवल, ८ जेठ । बुटवल उपमहानगरपालिकाले पछिल्लो समय सञ्चालन गरेको छाडा चौपाया व्यवस्थापन अभियानप्रति विभिन्न सामाजिक संस्थाले हार्दिक आभार व्यक्त गरेका छन् । बुटवल उपमहानगरपालिकाका विभिन्न सडक क्षेत्रमा छाडा चौपायाका कारण पटक–पटक सडक दुर्घटना हुनुका साथै मानविय क्षतिका घटनासमेत बढ्दै गएको थियो ।
यसले सर्वसाधारण नागरिकमा त्रास र असहजता सिर्जना गरेको अवस्थामा नगरपालिकाले जेठ ३ गतेदेखि सञ्चालन गरेको पाँच दिने विशेष अभियानलाई अत्यन्त महत्वपूर्ण र प्रशंसनीय कदमका रूपमा लिइएको रजाए मुस्तफा मस्जिद समिति र मदिना मदरसा मस्जिद प्रबन्ध परिषदले संयुक्त विज्ञप्तिमा जनाएका छन ।
अभियान सञ्चालनपछि सडकमा छाडा चौपायाको संख्या उल्लेख्य रूपमा घटेको र बुटवलबासीले ठूलो राहत महसुस गरेका रजाए मुस्तफा मस्जिद समिति का अध्यक्ष हाजि अब्दुल सहमद र मदिना मदरसा मस्जिद प्रबन्ध परिषदका अध्यक्ष हाजि सुकुर मियाद्धारा जारी संयुक्त विज्ञप्तीमा लेखिएको छ ।
अभियानलाई सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बुटवल उपमहानगरपालिकाका नगरप्रमुख, उपप्रमुख, सम्पूर्ण वडा अध्यक्षज्यूहरू, सुरक्षाकर्मी, विभिन्न संघसंस्था तथा सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गरिएको छ ।
चौपायाको उचित रेखदेख तथा व्यवस्थापनका लागि नन्दिनी गौशालामार्फत गरिएको प्रयासले मानवीय तथा व्यवस्थित समाधानतर्फ सकारात्मक सन्देश प्रवाह गरेको सरोकारवालाहरूको भनाइ छ ।
नेपालको राष्ट्रिय जनावर गाईप्रति सम्मान राख्दै यसको संरक्षण र व्यवस्थापनमा सबै पक्षको समान जिम्मेवारी रहने विषयलाई अझ गम्भीर रूपमा लिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
किसान तथा विभिन्न कारणले सडकमा आउने चौपायाको व्यवस्थापन चुनौतीपूर्ण भए पनि यो अभियानले दीर्घकालीन समाधानको मार्ग प्रशस्त गरेको विश्वास व्यक्त गरिएको छ । आगामी दिनमा पनि यस्ता जनहितकारी कार्यमा सबै पक्ष एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता विज्ञप्तीमा जनाएका छन् ।




















