बुटवल, ६ जेठ ।
बिरेन्द्रनगर नगरपालिकाले काफल बेच्दै हिँडेकी एक महिलामाथि नगर प्रहरीले गरेको व्यवहारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार नगरपालिकाबाट खटिएका नगर प्रहरीले ती महिलासँग गरेको व्यवहारको विषय सार्वजनिक भएपछि पालिकाले विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरेको हो ।
नगरपालिकाद्वारा जारी विज्ञप्तिमा पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने पालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै घटनामा संलग्न नगर प्रहरीमाथि विभागीय कारबाही गर्ने निर्णय गरिएको पनि जनाइएको छ ।
घटनाप्रति दुःख व्यक्त गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सतर्कता अपनाइने पालिकाका सुचना अधिकारी तथा प्रबक्ता टंक प्रकाश लामिछानेले खस्यौलीखबरलाई जानकारी दिए । बिरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी) रहेकी छन् ।






















