Spread the love

भैरहवा, ५ जेठ ।
भैरहवामा जारी पंचकन्या रुपन्देही सुपरलिग अन्तर्गत ‘ए’ डिभिजनको खेलमा जेआर क्रिकेट क्लब विजयी भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा मंगलबारको खेलमा जेआरले मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई १ विकेटले पराजित गरेको हो । हारका बाबजुत मेलवर्न सेमिफाइनल पुगिसकेको छ भने यता जेआर रेलिगेशनबाट जोगिने झिनो आशा अझै बाँकी छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मेलवर्नले २६.३ ओभरमा केवल ९० रनमा समेटियो । उसलाई सस्तैमा रोक्न जेआरका विनय जिसीले ४, अनमोल श्रीस थापाले ३ र दिनेश विष्टले २ विकेट लिए । मेलवर्नका अशोक धामीले २६, आदित्य यादवले २४ र अस्मान थारुले २० रन बनाए । उसका ५ खेलाडी शून्य रनमै पेभेलियन फर्किए ।
जवाफी ब्याटिङ गरेको जेआरले ३० ओभरमा ९ विकेट गुमाएर भेटायो । उसको जितमा विशाल भुसालले २७, खडक बोहराले २० र डालबहादुर क्षेत्रीले अविजित १९ रन बनाए । मेलवर्नका अशोक धामी र विपिन आचार्यले ३–३ तथा रामजी कुर्मीले २ र आरिफ अहमदले १ विकेट लिए । खेलमा विनय जिसी प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्