बुटवल, ३१ वैशाख ।
लुम्बिनी निर्माण व्यवसायी संघले निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष रमेश बेल्बासे, महासचिव प्रितम रौनियारसहित पदाधिकारी, सदस्यहरुले सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई बुधबार ज्ञापनपत्र बुझाएका हुन । यसअघि कार्यालयमा आधा घण्टा धर्ना समेत दिएका छन ।
ज्ञापनपत्रमा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा गरिएको संशोधन, म्याद थप गर्दा थप लागत नदिने व्यवस्था, बैंक ग्यारेन्टी रकम वृद्धि, निर्माण सामग्रीको मूल्यवृद्धि, बैंक ब्याजदर वृद्धि तथा भुक्तानी ढिलाइका कारण निर्माण व्यवसायीहरू समस्यामा परेको बारे उल्लेख गरेर समस्या समाधानका लागि आग्रह गरिएको संघका अध्यक्ष रमेश बेल्बासेले बताए । निर्माण क्षेत्र मुलुकको आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै हालको अवस्था सुधार गर्न सरकार गम्भीर बन्नुपर्ने माग उनले बताए ।
ज्ञापनपत्रमा महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनले समेत निर्माण क्षेत्रमा देखिएका समस्या औँल्याएको उल्लेख गरिएको छ । साथै नेपाल निर्माण व्यवसायी महासंघले २०८३ वैशाख २८ गते पत्रकार सम्मेलन गरी विभिन्न मागसहित आन्दोलनका कार्यक्रम घोषणा अनुसार बिहीबारदेखी चरणबद्ध आन्दोलन शुरु भएको उनले बताए ।
संघले निर्माण व्यवसायीका जायज माग तत्काल सम्बोधन नभए विकास निर्माणका काम थप प्रभावित हुने चेतावनी दिएका छन । हाल जिल्लामा एक हजार बढी निमार्ण ब्यवसायीहरु रहेका तथा १५ सय बढी सरकारी ठेक्काहरु अलपत्र हुने अवस्थामा रहेको छ ।





















